खाद्यान्नको मूल्यवृद्धि घट्दो

काठमाडौं, २८ जेठ । खाद्यान्नको मूल्य पछिल्लो समय विश्वभरि नै घटिरहेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन
(एफएओ) को मासिक प्रतिवेदनअनुसार गत मे महिनामा खाद्यान्नको मूल्य चार प्रतिशतले घटेको छ । एफएओका अनुसार दुग्धजन्य उत्पादन, चिनी तथा अन्य खुद्रा खाद्य सामग्रीको मूल्य कम हँुदै गएपछि खाद्यान्नको मूल्य घटेको हो ।
अमेरिकी डलर मजबुत हुँदै जानु, खाद्यान्न उत्पादन वृद्धि हुनु र आपूर्तिमा सहजता आएका कारण खाद्यान्नको मूल्य घट्न सहज भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत मसान्तको तथ्यांकमा पनि खाद्यान्नको मूल्य वृद्धि चार दशमलव ६ प्रतिशतले मात्र बढेको देखाएको छ । गत वर्ष खाद्यान्नको मूल्यवृद्धि १७ दशमलव एक प्रतिशत थियो । समग्र मूल्यवृद्धि साढे सात प्रतिशत रहेकामा पछिल्लो समयमा खाद्यान्नको मूल्यवृद्धिको अंश घटेर गैरखाद्य वस्तुको मूल्यवृद्धिको अंश बढ्दै गएको छ । चैत मसान्तसम्म गैरखाद्य वस्तुको मूल्यवृद्धि भने दोहोरो अंक अर्थात् १० दशमलव एक प्रतिशत रहेको छ ।
नेपालमा गत आर्थिक वर्षको अवस्था राम्रो रहेकाले कृषि उत्पादनमा वृद्धि भई खाद्यान्नको मूल्य घटेको हो । कृषि उत्पादन वृद्धि भएका कारण गत आवमा नेपालको खाद्यान्न बचत आठ लाख ८६ हजार तीन सय सात मेट्रिक टन पुगेको कृषि मन्त्रालयले जनाएको छ । नेपालले विगत दुई वर्षदेखि खाद्यान्न बचत गरिरहेको छ । त्यसभन्दा अगाडि लगातार चार वर्ष नेपालमा खाद्यान्न अपुगको अवस्था थियो । नेपालले आव ०५०।५१ मा सबैभन्दा बढी खाद्यान्न अपुगको समस्या भोगेको थियो । सो समयमा नेपाललाई चार लाख ८५ हजार मेट्रिक टन खाद्यान्न अपुग थियो ।
कृषि मन्त्रालयका अनुसार राष्ट्रिय खाद्य बचतको अर्थ खाद्यान्न अभाव भएका जिल्लाको संख्यामा कमी आउनु हो । मन्त्रालयले खाद्यान्न अभाव हुने जिल्ला ३३ बाट २७ मा झरेको जानकारी दिइसकेको छ । आव ०६५।६६ मा खाद्यान्न अभाव हुने जिल्ला ४३ रहेको थियो । हिमाली क्षेत्रमा खाद्य बचत १५ हजार सात सय ७४ र पहाडी क्षेत्रमा ९२ हजार नौ सय टन रहेको छ । यस वर्ष उदयपुर, सिन्धुली, काभ्रे, मकवानपुर, सर्लाही, पाँचथर र मुगु जिल्लालाई पनि खाद्य बचत भएको जिल्ला घोषणा गरि एको छ । अझै पनि चितवन, मनाङ र कालिकोटलाई खाद्य अभाव भएको जिल्लाको सूचीमा नै राखिएको कृषि मन्त्रालयले जनाएको छ । चितवन जिल्ला विगतमा खाद्यान्नको मुख्य स्रोत भए पनि तीव्र सहरीकरण र बसार्इं सराइका कारण यहाँ पनि गत वर्ष करिब १८ हजार टन खाद्यान्न कमी रहेको बताइएको छ । गत आवको तथ्यांक अनुसार हिमाली क्षेत्रका ११ जिल्ल र पहाडी क्षेत्रका २१ जिल्लामा खाद्यान्न अपुग थियो । तराई भेगको खाद्यान्न बचत भने सात लाख ७७ हजार टन पुगेको थियो । अघिल्लो वर्ष यस क्षेत्रमा ५० हजार एक सय ५३ टन खाद्यान्न बचत थियो ।
नेपालको वार्षिक खाद्यान्न आवश्यकता ५१ लाख ५० हजार टन हो । एक मानिसकले एक वर्षमा एक सय ९० दशमलव २८ किलोग्राम खाद्यान्न उपभोग गर्छ भन्ने आधारमा दुई करोड ७० लाख नेपालीलाई चाहिने खाद्यान्न आवश्यकताको हिसाब निकालिएको हो । एफएओका अनुसार ०११ को फेब्रुअरीमा खाद्यान्नको मूल्य धेरै बढेको थियो । अरब क्षेत्रमा भएको आन्दोलनले पेट्रोलियम पदार्थको मूल्य उच्चदरमा बढेपछि यसको प्रभावले खाद्यान्नको मूल्यसमेत बढेको थियो । गत महिनामा विश्वका शक्तिशाली आठ देशको ‘जी आठ’ सम्मेलनमा पनि खाद्यसुरक्षा तथा खाद्यान्न आपूर्तिमा उच्च सुरक्षा प्रदान गर्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमा खाद्यान्नको विषय प्रमुख रूपमा उठेको थियो ।
एफओले हरेक महिना खाद्यान्नको मूल्यसूचक सार्वजनिक गर्ने गरेको छ । उक्त सूचीअनुसार गत महिना खाद्यान्नको मूल्य तीन सय चार विन्दुमा झरेको छ । यसअघि यो दर अप्रिलमा दुई सय ९३ विन्दु थियो । ‘मे महिनामा यसअघि अपेक्षा गरिएअनुसार नै खाद्यान्न मूल्य कम भएको छ । तेल तथा चिल्लो पदार्थको मूल्य कम हुनुका साथै खाद्यान्न, चिनीलगायतमा मूल्य पनि कम भएको छ,’ एफएओका वरिष्ठ अर्थशास्त्री अब्दुलरेजा अब्बासेइनले भने, ‘खाद्यान्नको वितरणमा समेत सहजता आएकाले यो अवधिमा खाद्यान्नको मूल्य धेरै नै कम भएको हो ।’ उनले खाद्यान्नको मूल्य जुनमा पनि कम हुने अपेक्षा गरेका छन् । उनले यसको सम्भाव्यता पनि देखिएको बताएका छन् ।
यो अवधिमा दुग्धजन्य उत्पादनको सूचक १२ प्रतिशतले कम भएको छ भने चिनीको मूल्य नौ प्रतिशतले कम छ । त्यस्तै तेल तथा अन्य चिल्लो पदार्थको मूल्य सात प्रतिशतले कम भएको छ । दालको मूल्य एक प्रतिशतले कम भएको छ भने मासुको मूल्य स्थिर देखिएको छ । एफएओले ०१२ मा दुई अर्ब ४१ करोड ९० लाख टन दालको उत्पादन हुने प्रक्षेपण गरेको छ । यसअघि संस्थाले दुई अर्ब ३७ करोड ७१ लाख टन दाल उत्पादन हुने लक्ष्य राखेको थियो । यो अवधिमा अमेरिकामा मकैको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
नेपालको परिप्रेक्ष्यमा भने चैत मसान्तसम्म खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् १५.६ प्रतिशत रहेको छ । चैत मसान्तसम्म दुग्ध पदार्थ तथा अन्डा र रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि साढे १२ प्रतिशत रहेको छ । गत वर्ष सबैभन्दा बढी मूल्यवृद्धि भएको तरकारीको मूल्य यस वर्ष भने १० दशमलव नौ प्रतिशतले मात्र बढेको छ भने मदिराको मूलयवृद्धि भने नौ दशमलव दुई प्रतिशत रहेको छ । माछाको मूल्यवृद्धि नौ प्रतिशत रहेको छ भने मासुको मूल्यवृद्धि आठ प्रतिशत रहेको छ ।

प्रतिक्रिया