स्पेनलाई ब्यालोतेलीको डर


किभ, २८ जेठ । विश्व फुटबलका दुई महाशक्ति स्पेन र इटाली युरोकप २०१२ को समूहचरणको खेलमा आइतबार भिड्दै छन् । आइतबार नै समूह ‘सी’ मै रहेका आयरल्यान्ड र क्रोएसियाबीच पनि खेल हुनेछ । पछिल्लो समयको फर्मलाई आधार मान्ने हो भने स्पेन नै यस युरोकपको पनि दाबेदार हो । तथापि, इटालीसँगको विगत हेर्ने हो भने भिसेन्टे डेल बोस्क्युको टोलीका लागि इटालीलाई पराजित गर्नु त्यति सहज भने हुनेछैन ।
‘टीका टाका’ स्टाइलको खेलशैली अपनाउने स्पेन सबै पक्षमा राम्रो भए पनि युरोकपकै तयारी भने त्यति राम्रोसँग गर्न भ्याएको छैन । बार्सिलोना र रियल म्याड्रिडका खेलाडीको प्रभाव रहने स्पेनको राष्ट्रिय टोली व्यावसायिक सिजनको व्यस्त तालिकाले प्रभावित बनेको छ ।
इटालीको हकमा २१ वर्षीय फरवार्ड मारियो बालातोलीको फर्म नै स्पेनिस रक्षापंक्तिका लागि टाउकोदुखाइको विषय बन्न सक्नेछ । स्पेनका स्टाररक्षक गेरार्ड पिकले त बालातोलीलाई रोक्न सम्पूर्ण शक्ति लगाउनुपर्ने जनाइसकेका छन् । स्पेनले बार्सिलोनाकै जोडी पिक र कार्लोस पुयोललाई अन्तिम रक्षकको जिम्मेवारी दिंदै आए पनि यसपटक रियलका सर्जियो रामोस अन्तिम रक्षकको रूपमा रहनेछन् । उनी र पिकको समन्वयले नै पनि स्पेनको खेल कस्तो हुने हो भन्ने निर्धारण गर्नेछ ।
इटालीको हकमा भरखरै इन्जरीबाट मुक्त फरवार्ड एन्टेनियो कासानो र बालातोलीको समन्वय महत्त्वपूर्ण हुनेछ । युभेन्ट्सले सेरी–ए जितेपछि आफू अझै आफ्नो युग नसकिएको दाबी गर्ने भेट्रान मिडफिल्डर आन्द्रे पिर्लोका लागि पनि आफूलाई श्रेष्ठ पुष्टि गर्ने यो खेल एक महत्त्वपूर्ण अवसर हुनेछ । बल पोसेसनमा ध्यान केन्द्रित गर्ने स्पेनले यसपटक पनि जाभी हर्नान्डेज, आन्द्रेइ इनेस्टा र सर्जियो बास्कयुटलाई मध्यपंक्तिमा खेलाउने निश्चित छ । फर्ममा रहेको म्यानचेस्टर सिटीका डेविड सिल्भा यसपटक युरोकपमा पनि जम्ने अपेक्षा गरिएको छ ।
एक सेन्टर फरवार्ड खेलाउने डेल बास्क्युको नीतिमा फर्नान्डो टोरेस, पेड्रो र लोरेन्टमध्ये कसले अवसर पाउने प्रतीक्षाकै विषय बनेको छ । पुयोलको इन्जरीका कारण जुडी अल्बाले पनि मैदानमा प्रवेश पाउने अनुमान गरिएको छ । रक्षात्मक खेलका लागि परिचित इटालीको रक्षापंक्ति भने यसपटक इन्जरीपिडित बनेको छ । आन्द्रेइ बार्गाजली घाइते भएपछि डिफेन्सिभ मिडफिल्डर डानियल डे रोसी रक्षकको रूपमा खेल्न सक्ने सम्भावना प्रबल रहेको छ । रक्षापंक्तिमा जति चोट भए पनि यसपटक इटालीसँग खेललाई परिवर्तन गर्न सक्ने फरवार्डको भने कमी छैन । बालातोली र कासानोको साथमा युडेनेसीका एन्टेनियो डी नाटा खेलको दिशा मोड्न सक्षम मानिन्छन् ।
समूह ‘सी’ मै रहेका दुई डार्कहर्स आयरल्यान्ड र क्रोएसियाबीच नै आइतबार राति हुने खेलको पूर्वानुमान पनि कठिन नै मानिन्छ । कलब मेड्रिडबाट प्रभावित क्रोएसियाका अन्य खेलाडीले पनि जर्मनी र इङल्यान्डका क्लबबाट व्यावसायिक फुटबल खेल्ने क्रममा राम्रो प्रदर्शन गरिरहेका छन् । मिडफिल्डमै खेल्ने इभान पर्सी क्रोएसियाका थप आकर्षण हुनेछन् । साथमा एभरटनका निकिका जेलाभिक पनि राम्रो फर्ममा रहेका कारण क्रोएसियाली वृत्त थप आशावादी रहेको छ ।
इङलिस प्रिमियरसिपको मध्यमा रहेका क्लबका खलाडीको बाहुल्यता रहेको आयरल्यान्ड जोकोहीलाई पनि हराउनका लागि कठिन टोली मानिन्छ । ‘जुझारुपन’ आयरल्यान्डको थप विशेषता हो । रक्षापंक्तिमा खेल्ने, काउन्टर एटयाक गर्ने र ‘सेटपिस’ लाई राम्रोसँग उपयोग गर्ने आयरल्यान्डको नीति रहनेछ । डामियन डफ, रोबी किन र जेम्स म्याकक्लिन हेर्नलायक खेलाडी हुनेछन् । घरभन्दा बाहिर कसरी खेल्ने भन्ने पनि राम्रोसँग थाहा भएको आयरल्यान्ड क्रोएसियालाई हराउन सके स्पेन र इटालीमध्ये एकलाई सिकार बनाउँदै पहिलो चरण पार गर्ने दाउमा छ । आयरल्यान्डको विशेषता भनेकै बलियो टोलीसँग नपत्याउँदो खेल्ने हो ।

प्रतिक्रिया