क्षेत्रीयका बिरामी अञ्चल अस्पतालमा रिफर

सुर्खेत, २८ जेठ । सुन्दै पनि अचम्म । सानो अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा बिरामी रिफर गरिन्छ । तर सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल यस्तो अस्पताल हो, जहाँ बिरामीलाई सेवा दिन सुविधा नभएपछि अस्पतालमा आएका बिरामी अञ्चल अस्पतालमा रिफर हुन्छन् ।

सात वर्षअघि जिल्ला अस्पताललाई स्तरोन्नति गरेर क्षेत्रीय अस्पताल बनाइए पनि पूर्वाधार र जनशक्ति नहुँदा अस्पतालमा आउने अधिकांश बिरामी काठमाडांै, पोखरा र भारतको लखनउमा रिफर हुने गरेका छन् ।
कर्णाली र भेरी अञ्चलका केही सुविधाजनक जिल्लाबाहेक अन्य जिल्लाका बिरामीलाई लक्षित गरिएको अस्पतालमा २४ विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि ६ जनाले सेवा दिइरहेका छन् । ‘दरबन्दी त २४ जनाको छ तर अहिलेसम्म ६ जना मात्रै कार्यरत छन्,’ अस्पताल विकास समितिका अध्यक्ष जितबहादुर रानाले भने । कार्यरत ६ मध्ये तीन अन्तै सरुवा भएर काजमा कार्यरत छन् । यस्तै अस्पतालमा ८० कर्मचारीको दरबन्दी भए पनि ५८ मात्रै कार्यरत छन् ।
अस्पतालमा हरेक वर्ष बिरामीको संख्या बढ्दै गए पनि अस्पतालको स्तर भने सुध्रिन सकेको छैन । जटिल शल्यक्रिया गर्नुपरे क्षेत्रीय अस्पताल सुर्खेतबाट भेरी अञ्चल अस्पताल नेपालगन्ज वा भारतको लखनउ रिफर गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रानाले बताए ।
वीरेन्द्रनगर–३ का हर्कबहादुर सुनारले राज्यले सुर्खेतमा नाम मात्रको क्षेत्रीय अस्पताल स्थापना गरेको बताए । उनले भने, ‘नाम क्षत्रीय अस्पताल तर सेवा सुविधा जिल्ला अस्पतालसरहको पनि छैन ।’
‘मध्यपश्चिममाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा राज्यले मध्यपश्चिम क्षेत्रीय अस्पताल स्थापना त गरेको छ,’ स्थानीय रामचन्द्र कार्कीले भने, ‘अस्पतालको सेवा, सुविधा र अवस्था हेर्दा राज्यले मध्यपश्चिमलाई अवहेलना गरेको देखिन्छ ।’
अस्पतालमा इन्टेन्सिभ केयर युनिट
(आइसियु) सेवा सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ भने जटिल प्रकारका बिरामीलाई बाहिर पठाउने गरिएको छ । भवनअभावले अस्पतालमा आइसियु सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष
रानाले बताए ।
अस्पतालमा भवनअभावका कारण दुई सय ५० केभिए क्षमताको जेनेरेटर पनि प्रयोगविहीन बनेको छ । भवनअभावमा अस्पतालले शय्यासमेत विस्तार गर्न सकेको छैन । अस्पतालमा एक सय ५० शय्या हुनुपर्नेमा ५० शय्या मात्रै छन् ।
अस्पतालको नयाँ भवन निर्माण सम्झौता तीनपटक थप्दा पनि सम्पन्न भएको छैन । २७ असोज ०६४ मा रविना एन्ड जेभी निर्माण कम्पनीलाई ६ करोड ५९ लाख रुपियाँमा अस्पतालको भवन निर्माणको ठेक्का दिइएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले जेठ ०६६ मा काम सक्नुपर्नेमा तेस्रोपटक १५ जेठमा निर्माण गरेर ३० जेठमा हस्तान्तरण गर्नुपर्ने सम्झौता गरिएको छ । तर काम अझै सकिएको छैन । स्तरवृद्धि हुन नसके पनि अस्पतालबाट सेवा लिनेको संख्या घटेको छैन । अस्पतालबाट पछिल्लो १० महिनामा सात हजार नौ सयले उपचार गराएका छन् ।

 

प्रतिक्रिया