एमाओवादीका कारण संविधान आउन सकेन


काठमाडौं, २६ जेठ । कांग्रेस, एमाले सहितका साना दलहरुले एमाओवादी र प्रधानमन्त्री बाबुराम भट्टराई सत्ताकब्जाको पूर्व षड्यन्त्रका साथ सक्रिय रहेको आरोप लगाएका छन् । उनीहरुले नयाँ संविधान जारीगर्न नदिएर जनताका लोकतान्त्रिक अधिकार खोसेको दाबी गरे ।
कांग्रेस/एमाले सहित २२ दलले आज राजधानीमा आयोजना गरेको संयुक्त विरोध सभामा उनीहरुले एमाओवादी संघीय राज्यकै पक्षमा नरहेको बताए । संविधानसभा विघटन गरेर जनताका अधिकार असंवैधानिक रुपमा खोस्न सक्रिय रहेको बताए ।
विरोध सभामा धारणा राख्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संघीयताकै कारण नयाँ संविधान आउन अबरोध नभएको बताए । उनले एमाओवादीले षड्यन्त्र गरेर नयाँ संविधान आउन नदिएको बताए ।
एमाओवादीका लागि संघीयता देखाउने दाँत मात्रै भएको आरोप लगाए । उनले भने, ‘एमाओवादीले भित्रैबाट संघीयता चाहेको छैन ।’
राप्रपाका नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले एमाओवादीले जाति/जातिवीच लडाएर स्वार्थ लुट्न चाहेको बताए । उनले सिद्धान्ततः संघीयता र समावेशीतामा सवै दल सहमत रहेको बताए ।
मालेका महासचिव सीपी मैनालीले ठूला दलका नेतालाई थाङ्नामा सुताएर एमाओवादीले नयाँ चुनावको बाटो रोजेको आरोप लगाए । उनले भने, ‘एमाओवादीका पढेलेखेका भनिएका प्रधानमन्त्री बाबुराम भट्टराई मधेसी दलको बैशाखीमा हिंडेका छन् ।’
मैनालीले एमाओवादीको काम नै जातीयताको नारा लगाएर विखण्डन मच्चाउने रहेको आरोप लगाए ।
कांग्रेस नेता भीमबहादुर तामाङले जातीयताको कुरामात्रै गरेर केही नेताहरु सक्रिय रहेको भन्दै मुलुक विखण्डन नगर्न आग्रह गरे । उनले दलहरुले व्यक्तिगत स्वार्थका लागिमात्र नभई जनताका पक्षमा राजनीतिक गर्न आग्रह गरेका छन् ।
जनमोर्चाका नेता साध्यबहादुर भण्डारीले जनजातिहरुले नै जातीय राज्य नचाहेको दाबी गरे । उनले अधिकारवादी भनिएका मल्लके सुन्दर विदेशीको एजेन्ट भएको आरोप लगाउदै डलर पचाउन जातीय राज्यका पक्षमा अभिव्यक्ति दिने गरेको आरोप लगाए ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीले दुई तिहाई मत ल्याउन दिउसै सपना नदेख्न सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्री बाबुराम भट्टराई विपक्षीको सभाबाट तर्सिएर पोखरा भागेका छन् ।’
हिन्दीमा सम्बोधन गर्ने क्रममा सदभावना आनन्दी देवीका नेता देवेन्द्र मिश्रको बिरोध भएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले होहल्ला नगर्न आग्रह गरेका थिए । पौडेलको आग्रह पछि नेता मिश्रले हिन्दीमै भाषाण गरेका थिए ।
विरोध सभा हुनु पूर्व दलहरुले राजधानीका विभिन्न स्थानबाट सरकार र एमाओवादी विरुद्ध चर्का नारावाजी सहित खुल्ला मञ्चमा दलका समर्थकहरु जम्मा भएका थिए ।

सौर्य सहकर्मी देबकी विष्टले लिएका तस्बिर

प्रतिक्रिया