सारा पहिलोपटक फाइनलमा


पेरिस,२६  जेठ । युएस ओपनविजेता सामन्था स्टसरलाई हराउँदै इटालीकी सारा इरानी वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेकी छन् । सन् २०१० को संस्करणकी उपविजेतासमेत रहेकी अस्ट्रेलियन स्टसरले बिहीबार महिला एकलतर्फको सेमिफाइनलमा दोस्रो सेट ६–१ ले जितेर पुनरागमन गर्ने प्रयास गरे पनि ५–७, ६–१ र ६–३ ले सारालाई नतिजा सुम्पिन् ।
२१औं वरीयताप्राप्त २५ वर्षीया सारा यस वर्ष एकाएक कोर्टमा चम्किन् । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेर राम्रो सम्भावना देखाएकी उनले जारी फ्रेन्च ओपनमा पूर्वविजेताद्वय आना इभानोभिक र स्वेत्लाना कुज्नेत्सोभालाई हराएकी थिइन् । सन् २००६ देखि ग्रान्डस्लाम टेनिस खेल्न सुरु गरेकी सारा सन् २०१२ अघि कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् ।
यस वर्ष खासै राम्रो प्रदर्शन गर्न नसकेकी २८ वर्षीया स्टसर गत अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बिदा भएकी थिइन् ।
साराविरुद्ध तेस्रो तथा निर्णायक सेटमा २–० ले पछि परेर पनि ३–३ ले बराबरी गरेकी स्टसरले त्यसपछिको ‘गेम’ भने जित्न सकिनन् । साराले उपाधिका लागि मारिया सारापोभा र पेट्रा केभिटोभाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यता पुरुष एकलतर्फ चौथो वरीयताका एन्नी मर्रे क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । उनी स्पेनका डेभिड फेररसँग पराजित भए । दोस्रो सेट जितेर खेलमा फर्कने प्रयास गरे पनि बेलायती नम्बर–१ मर्रे ६–४, ६–७, ६–३ र ६–२ ले स्तब्ध भए । ढाडको समस्याका कारण मर्रेले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यता फेरर भने पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनल पुगे । गत वर्षको अस्ट्रेलियन ओपनमा पनि सेमिफाइनल पुगेका छैटौं वरीयताप्राप्त फेररले फाइनल प्रवेशका लागि आफ्नै देशका राफेल नाडालको सामना गर्नेछन् । साविक विजेतासमेत रहेका दोस्रो वरीयताका नाडाल सातौंपटक फ्रेन्च ओपन जितेर यो प्रतियोगिता सर्वाधिक जित्ने कीर्तिमान बनाउने प्रयासमा छन् । ‘म सुन्दर खेल खेल्नका लागि प्रयास गर्नेछु,’ नाडालविरुद्धको भिडन्तबारे फेररको प्रतिक्रिया थियो, ‘मसँग ठूलो लक्ष्य छ, यसका लागि पनि संघर्ष गरिरहेको छु ।’ यद्यपि, फेरर फ्रेन्च ओपन खेलिने क्लेकोर्टमा नाडालसँग लगातार चारपटक पराजित भइसकेका छन् ।

प्रतिक्रिया