‘कोही छ मभन्दा कुरूप ?’

बेइजिङ : जन्म दिने आमाबाहेक दायाँको फोटोमा भएका मानिसलाई अरू कसले मन पराउला ? जवाफमा फोटोका मानिस आपैँ भन्छन्, ‘अहँ, कोही छैन, म विश्वकै सबैभन्दा कुरूप व्यक्ति हुँ ।’
४३ वर्षीय चिनियाँ नागरिक ताङ सुक्वान ‘कुरूप’ भएकामा दु:खी भने छैन । अनुहारकै कारण विश्व कीर्तिमान कायम गर्न सफल भएकामा उनी मख्ख छन् । यो उनको वास्तविक अनुहार भने होइन । अनुहार गुजुमुज्ज पारी उनले यसलाई विकृत बनाएका हुन् । ‘सबैभन्दा विकृत अनुहार बनाउनसक्ने व्यक्ति’ भएको ठहर गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनलाई उपाधि दिइसकेको छ ।
‘वल्र्ड रेकर्ड’ कायम गरेपछि उत्साही बनेका ताङले संसाभरका मानिसलाई आफूजस्तै ‘कुरूप’ बन्न चुनौती दिएका छन् । ‘म जत्तिको कुरूप बन्न को सक्छ ? सामुन्ने आओस्, उसलाई म पुरस्कार दिन्छु,’ अनुहार खुम्चाउन आफूजत्तिकै सिपालु व्यक्ति फेला परे १० हजार २ सय ५० डलर पुरस्कार दिने घोषणा गर्दै उनले भनेका छन् ।
अनुहार विकृत बनाउन आफूलाई कसैले भेट्न नसक्नेमा विश्वस्त भएकै कारण यस्तो घोषणा गरेको उनी बताउँछन् । सात वर्षको अथक मिहिनेतपछि उनले यस्तो अद्भुत कला सिकेका हुन् ।
दस वर्षअघि उनले अनुहार विकृत पार्ने कला प्रदर्शन गरेका थिए । त्यसको केही समयपछि विश्व कीर्तिमान कायम गर्ने तयारीमा उनी जुटेका थिए । गत मार्चमा ‘इटालियन गिनिज वल्र्ड रेकर्डस् टिभी सो’ मा उनले कला प्रदर्शन गरेका थिए । सोही आधारमा बुधबार उनलाई १० हजार डलरसहित गिनिज मेडल प्रदान गरिएको हो । (डेलिमेल)

प्रतिक्रिया