सहकारी आकर्षण बढ्दो

कैलाली,२५  जेठ । पछिल्लो समय जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीयको सहकारीमा आकर्षण बढ्दै गएको छ ।
सहकारी संस्थाले घरदैलोमा नै पुगेर बचत संकलन गर्ने, सदस्यहरूले व्यवसाय सञ्चालन गर्नका लागि विनाधितो सहजै ऋण पाउन सकिने भएका कारण उनीहरूको सहकारीमा आकर्षण बढेको हो ।
आवश्यक परेका बेला समयमा ऋण खोज्दा नपाइने समस्याबाट स्थानीय मुक्त भएका छन् । संस्थाको सदस्य भएपछि आवश्यक परेको कर्जा पाइने र जुनसुकै व्यवसाय सञ्चालन गर्न सहज भएको धनगढीका व्यवसायी कृष्णदत्त जोशी बताउँछन् ।
‘म सहकारीमा दैनिक दुई सय रुपियाँ बचत गर्छु,’ जोशीले भने, ‘थोरै थोरै रकम बैंकमा जम्मा गर्न जाने समय हँुदैन ।’ सहकारीमा पैसा जम्मा गर्न थालेपछि फजुल खर्च बचत भएको उनी बताउँछन् । ‘व्यापार–व्यवसाय गर्नका लागि सहजै कर्जा पनि पाइन्छ,’ उनले भने, ‘बैंकभन्दा सहकारीले फाइदा पुर्‍याएको छ ।’
सीप भएर पनि पुँजी नभएका उद्यमीका लागि सहकारी सफलताको माध्यम सावित हुँदै गएको छ । सहकारी सदस्य भएपछि कतिपयले आफ्नो जीवनमा निकै परिवर्तत आएको सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय धनगढीले जनाएको छ । सहकारीप्रतिको बढ्दो आकर्षणले गर्दा कैलालीमा चार सयभन्दा बढी विभिन्न प्रकृतिका सहकारी संघ/संस्था स्थापना भई सञ्चालनमा रहेको कार्यालयको तथ्यांक छ ।
ती संघ/संस्थाबाट वार्षिक करोडौँ निक्षेप संकलन हुने गरेको छ । आव ०६७/०६८ मा १६ करोड ७९ लाख ७८ हजार ६ सय १२ रुपियाँ पुँजी रहेको थियो भने नौ करोड ७४ लाख ४१ हजार ६ सय ५६ लगानी रहेको सो डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
जिल्लाका अधिकांश सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेकाले लगानी समेत डुब्ने डर कम रहने सहकारी सञ्चालकहरू बताउँछन् । सदस्यहरूले कर्जा लिदाँ बैंकका तुलनामा कम ब्याज तिर्नुपर्ने र विनाधितो कर्जा उपलब्ध दिने भएकाले सहकारीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको जोशी बताउँछन् ।

प्रतिक्रिया