नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत

काठमाडौं, २३ जेठ । संयुक्त राष्ट्रसंघ (युएन) ले संसारभर नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत पुर्‍याउने अभियान नेपालमा पनि सुरु भएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव वान की मुनको प्रस्तावअनुसार सुरु गरिएको दिगो नवीकरणीय ऊर्जा अभियानका लागि राष्ट्र संघको सदस्यको नाताले नेपालले सो अभियान सुरु गरेको हो । राष्ट्र संघले सन् ०१२ लाई अन्तर्राष्ट्रिय दिगो ऊर्जा वर्ष घोषणा गरेपछि युएनको लक्ष्यअनुसार अभियान सुरु गरिएको परराष्ट्र मन्त्रालय युएन महाशाखा प्रमुख दीपक धितालले बताए । ‘युएनको सदस्य राष्ट्रका नाताले नेपालमा ५० प्रतिशत नवीकरणीय ऊर्जा बनाउने अभियानलाई लक्ष्य गरी अघि बढेका छाँै,’ उनले भने । अभियानअन्तर्गत सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेटेर सबैको साझा अभियान बनाउने लक्ष्य सरकारले राखेको छ । ‘संसारभरि युएनले सबैलाई आधुनिक ऊर्जा पुर्‍याउने, ऊर्जामा दक्षता बढाउने र नवीकरणीय ऊर्जालाई सन् ०३० भित्र ५० प्रतिशत पुर्‍याउने अभियान रहेकाले त्यो अभियानलाई अगाडि बढाउन हामी अग्रसर भएका छौँ,’–उनले भने ।
अभियानलाई सफल बनाउनका लागि अन्तरमन्त्रालय संयन्त्र बनाउने प्रक्रिया सुरु भएको छ । परराष्ट्र, अर्थ, वातावरण, ऊर्जालगायतका मन्त्रालयलगायतको सहभागितामा भएको मंगलबारको छलफलमा पहिला अन्तरमन्त्रालय समन्वय संयन्त्र निर्माण गर्ने, बाँकी सबै सरोकारवालासँगको समन्वयमा अभियान सफल बनाउने संरचना बनाउने, त्यसपछि योजना, लक्ष्य र कार्यक्रम तय गरी अघि बढ्ने विषयमा छलफल भएको प्रमुख धितालले जानकारी दिए ।
युएनले सन् ०१२ लाई अन्तर्राष्ट्रिय दिगो ऊर्जा वर्ष घोषणा गरे पनि सन् ०१२ सुरु भएको पाँच महिनापछि मात्र परराष्ट्र मन्त्रालयले अभियानलाई अघि बढाउन सार्थक पहल सुरु गरेको हो । ‘पहिला छलफल मात्र भएको थियो, अब सार्थक पहल सुरु गरिएको छ, सन् ०३० सम्मको कार्यक्रम, योजना, लक्ष्य, रणनीति, आवश्यक संयन्त्र निर्माणमा हामी अब अघि बढ्छौँ,’ उनले भने, ‘नेपालका धेरै ग्रामीण क्षेत्र विद्युतीकरणबाट टाढा रहेकोले नवीकरणीय ऊर्जाको सम्भावना सबैभन्दा बढी छ, अभियानबाट नेपालले बढीभन्दा बढी फाइदा लिनुपर्छ ।’
संसारभर नवीकरणीय ऊर्जाको हिस्सा ५० प्रतिशत पुर्‍याउनका लागि सन् ०३० सम्मका लागि एक खर्ब डलर लाग्ने अनुमान गरिएको छ । त्यो लक्ष्य पूरा गर्न वर्षको ५० अर्ब डलर लाग्छ । अहिले नवीकरणीय ऊर्जाको उपयोग नेपालमा कुलमध्ये एक प्रतिशत मात्र रहेको पनि उनले जानकारी दिए । नेपालमा विशेष गरी सौर्य, वायु, वायोग्याँस र गोबर ग्याँसलगायतका नवीकरणीय ऊर्जा बनाउने अभियान सञ्चालन गरिएको छ ।
राष्ट्र संघको अभियानअन्तर्गत सन् ०३० भित्र ५० प्रतिशत नवीकरणीय ऊर्जाको हिस्सा बनाउने लक्ष्य राखिए पनि वातावरण मन्त्रालयअन्तर्गको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सन् ०३० भित्रै कुल ऊर्जा खपतमा नवीकरणीय ऊर्जाको हिस्सा २७ प्रतिशत बनाउने गरी २० वर्षे बृहत् योजनाको मस्यौदा तयार पारेको छ । केन्द्रले ०१५ मा नवीकरणीय ऊर्जाको उत्पादन ३५ मेगावाट, ०२० मा १४१ मेगावाट, ०२५ मा ४०९ र ०३० मा ८९४ मेगावाट उत्पादन गर्ने योजना बनाएको छ ।
४२० मेगावाट साना तथा लघु जलविद्युत्मार्फत, १८६ मेगावाट वायु ऊर्जा, २३३ मेगावाट वायु ऊर्जा र ५५ मेगावाट बायोमासमार्फत उत्पादन गर्ने योजना प्रस्तावित मस्यौदामा उल्लेख छ । अहिलेसम्म नेपालमा ऊर्जाका रूपमा सबैभन्दा धेरै दाउराको प्रयोग ७८ प्रतिशत हुने गरेको छ भने नवीकरणीय ऊर्जाको योगदान सबैभन्दा कम एक प्रतिशत मात्र छ । नवीकरणीय ऊर्जा उपयोग गरे वातावरण स्वच्छ हुने भएकाले युएनले विशेष अभियानका रूपमा नवीकरणीय ऊर्जालाई जोड दिएको हो । १८ वर्षभित्र एक प्रतिशत रहेको नवीकरणीय ऊर्जाको हिस्सालाई ५० प्रतिशत बनाउन ठूलो चुनौती छ ।

प्रतिक्रिया