पाँच वर्षमा लोडसेडिङ हट्ने दावी

काठमाडौं,२३ जेठ । ऊर्जा मन्त्रालयले सन् ०१७ भित्र लोडसेडिङ अन्त्य हुने दाबी गरेको छ ।
सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहायक प्रवक्ता पुरुषोत्तम आचार्यले सन् ०१७ भित्र लोडसेडिङ अन्त्य गर्ने उद्देश्यका साथ विद्युत् उत्पादनलाई अघि बढाइएको जानकारी दिए । अहिले एक हजार ६ सय मेगावाट पिपिए भएर उत्पादनका क्रममा रहेको र अरू आयोजना पनि निर्माण भइरहेको उनले बताए ।
प्राधिकरणको तीन सय १६ मेगावाट र निजी क्षेत्रबाट एक सय २७ मेगावाट उत्पादन भइरहेको तथा भारतबाट ८५ मेगावाट आयात भएको जानकारी दिँदै उनले विद्युत्को माग नौ सय २९ मेगावाट रहेकामा लोडसेडिङ अन्त्यका लागि अझै चार सय मेगावाट अवश्यक रहेको उनले जानकारी दिए ।
पछिल्लो समयमा मुस्ताङ जिल्लास्थित थापाखोला जलविद्युत् आयोजना ११ दशमलव दुई मेगावाट र गोरखाको दरौँदी कालिका जलविद्युत् ६ मेगावाटको आयोजनाका लागि विद्युत् उत्पादन अनुमतिपत्र दिइएको पनि उनले कार्यक्रममा जानकारी दिए ।
मन्त्रालयले सन् ०१७ भित्र लोडसेडिङ अन्त्य हुने दाबी गरे पनि प्रत्येक वर्ष १२० मेगावाट विद्युत्को माग थपिने तथा अहिले विद्युत् उत्पादन सुस्त गतिमा भएकाले पाँच वर्षभित्र लोडसेडिङ अन्त्य हुने सम्भावना कम रहेको विज्ञहरू बताउँछन् ।

कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकमा महेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् ।
आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी श्रेष्ठलाई कामु कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो । ऊर्जा सचिव एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हरिराम कोइरालाले निर्देशकमा श्रेष्ठलाई नियुक्ति गरेको जानकारी दिए । अर्को व्यवस्था नहुञ्जेलका लागि श्रेष्ठलाई नियुक्त गरिएको प्राधिकरण सञ्चालक समितिले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रहेका टीकाराम विसीलाई काजमा ऊर्जा मन्त्रालय सरुवा गरिएको पनि उनले जानकारी दिए । विसी पाँच महिनादेखि निमित्त कार्यकारी निर्देशक थिए । यसअघि श्रेष्ठ उत्पादन तथा सञ्चालन सम्भारका महाप्रबन्धक थिए ।
नवनियुक्त निर्देशक श्रेष्ठले प्राधिकरणलाई सुधारका लागि सकारात्मक पहल गर्ने बताए । जलविद्युत्बारे प्राविधिक ज्ञान भएका श्रेष्ठ ०३६ सालदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले खस्कँदै गएको प्राधिकरण सुधारका लागि सकारात्मक भूमिका खेल्ने प्राधिकरणका कर्मचारीले अपेक्षा गरेका छन् । (सौस)

प्रतिक्रिया