सहकारी अनुगमन गर्न निर्देशन


काठमाडौं, २३ जेठ । सहकारी क्षेत्रमा विकृति बढ्दै गएको भन्दै सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले सहकारी विभागलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका छन् ।
सहकारी संघ/संस्था अनुगमन गरी केही हदसम्म भए पनि नियन्त्रण गर्न सकिने भन्दै उनले विभागलाई त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री ढकाल सोमबार सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा पुगेका थिए ।
‘सहकारी अनुगमन फितलो भएकै कारण सहकारीमा समस्या आएको हो,’ मन्त्री ढकालले भने, ‘जसका कारण सदस्य ठगिने क्रम बढेको हो ।’ मन्त्रालयले जनशक्ति तथा दक्षकर्मचारी थपेर भए पनि अनुगमनलाई तीव्रता दिने उनको भनाइ थियो ।
‘मन्त्रालय मातहतको तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ,’ मन्त्री ढकालले भने, ‘डिभिजन सहकारी कार्यालयमा रहेका रिक्त दरबन्दी पूर्ति गर्नमा मन्त्रालयले विशेष ध्यान दिनेछ ।’ सहकारी संस्थाको संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा ध्यान दिन आवश्यक भएको ढकालले बताए । निमुखा, गरीब, श्रमजीवी, किसानको जीवनस्तर उकास्न र व्याप्त गरिबी अन्त्य गर्नका लागि मन्त्रालयले कार्यक्रममा प्राथमिकता दिने पनि उनले बताए ।
संस्थागत क्षमता, रिक्त दरबन्दी पूर्ति गर्न, फितलो अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक रहेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेको भनाइ छ ।  ‘सहकारी नीति नभएकाले सहकारीमा समस्या आएको हो,’ न्यौपानेले भने, ‘देशमा सहकारी नीति आवश्यक छ ।’ सहकारी शिक्षा, सूचना, र तालिममा सुधार गर्न पाठ्यक्रमलाई सुधार गर्नु पर्ने केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले मन्त्री ढकाल समक्ष भनाइ राखेका थिए ।

१० बुँदे घोषणापत्र जारी
काठमाडौं : सहकारी संघ सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धनसम्बन्धी राष्ट्रिय गोष्ठी १० बुँदे  घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ मनाउने क्रममा भएको सो गोष्ठी आइतबारदेखि सुरु भई सोमबार सकिएको हो । राष्ट्रिय सहकारी संघको आयोजनामा भएको सो गोष्ठीमा तीनखम्बे अर्थनीतिअनुरूप सहकारी संघ सदृढीकरणका लागि ऐन–नियम परिमार्जन तथा राष्ट्रिय सहकारी विकास नीति र रणनीतिक योजनाको निर्माणमा जोड दिए । सहकारी मूल्य–मान्यता, सिद्धान्त, ऐन र मापदण्डको पूर्ण पालना गर्दै स्वानियमन र सुशासनमा आधारित रही सहकारी संघ/संस्था सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख  छ ।
पिछडिएका जाति, वर्ग, क्षेत्र, लिंग र समुदायबीच सहकारी भावना अभिवृद्धि गरी सहकारी संघ/संस्थाहरूको हित र क्षमता अभिवृद्धि गर्ने घोषणापत्रमा छ । एकै प्रकृतिका र एकै भौगोलिक क्षेत्रमा क्रियाशील सहकारी संस्थालाई एकीकरण गरी आपसी हित प्रवद्र्धनका लागि सारोकारवला निकायबीच समन्वय गरिने पनि घोषणपत्रमा उल्लेख छ ।
घोषणापत्रले सरकार र सहकारी आन्दोलनका तर्फबाट गठित राष्ट्रिय समितिबाट तय भएका कार्यक्रमका साथै स्थानीयस्तरमा विविध कार्यक्रम सञ्चालन गर्नेसमेत जनाएको छ । सहकारी क्षेत्रमा लैंगिक समानुपातिकतालाई जोड दिंदै सदस्यता र नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्न गोष्ठीले जोड दिएको राष्ट्रिय सहकारी संघले जनाएको छ ।
अभियानमा संलग्न सहकारीकर्मीको शक्तिलाई जनस्तरसम्म पुर्‍याउन तथा यसको भावी दिशा निर्दिष्ट गर्न सहकारीसम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । त्यस्तै सहकारी क्षेत्रको प्रवद्र्धन र सहकारी शिक्षा अभियानका निम्ति आमसञ्चार परिचालनमा जोड दिने रहेको छ । उद्यममशीलता विकास आय तथा उत्पादन वृद्धि र स्वरोजगार सिर्जनाका माध्यमबाट गरिबी निवारण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गोष्ठीले गरेको संघका अध्यक्ष केशवप्रसाद बडालले बताए । (सौस)

प्रतिक्रिया