‘न्याय न राहत’

चितवन, २३ जेठ । ‘ऋण खोज्न भरतपुर जानुभा’थ्यो,’ ५७ वर्षीया राधिका सुवेदी पति रामचन्द्रलाई सम्झँदै भक्कानिन्छिन् र भन्छिन्, ‘आफ्नै हातले स्याहार गर्दा बितेको भए पनि मन बुझाउँथेँ ।’
सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुढे खोलामा तत्कालीन विद्रोही नेकपा
(माओवादी)ले यात्रु बसमा विद्युतीय धराप विस्फोट गराउँदा राधिकाका पति रामचन्द्रको मृत्यु भएको थियो । घर खर्च चलाउनकै लागि ऋण खोज्न नारायणगढ आएका उनका पति घर फिरेनन् । बिनाकारण पति गुमाउनुको पीडा सात वर्ष कट्दा पनि उनको मनबाट हटेको छैन । ‘मुला काटेझैँ मारे,’ उनी भन्छिन्, ‘सात वर्ष पुग्दा पनि पति मार्नेलाई कारबाही भएन ।’
सशस्त्र विद्रोहमा रहेको माओवादीले सर्वसाधारण चढेको ना २ ख ३२४५ नम्बरको यात्रुबाहक बसमा विद्युतीय धराप विस्फोट गराउँदा ३८ सर्वसाधारणको ज्यान गएको थियो । घटनामा ७२ यात्रु घाइते भएका थिए । घाइतेमध्ये तीनजनाले उपचारका क्रममा ज्यान गुमाइसकेका छन् ।
२३ जेठ ०६२ मा भएको घटनामा माओवादीले त्यतिबेला माफी मागेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, अहिलेसम्म घटनाका दोषी सार्वजनिक गरिएको छैन । बिनाकारण आफन्त गुमाएका तथा घाइते जीवन लिएर संघर्ष गरिरहेका पीडितले माओवादी सरकारमा गएपछि पनि न्याय नपाएको गुनासो गरेका छन् । बाँदरमुढे घटनाका घाइते कृष्ण अधिकारीको देब्रे खुट्टा भाँच्चिएको थियो । ढाड र छातीको हड्डी भाँच्चिएको थियो । अधिकारीले अहिलेसम्म उपचारका लागि सात लाख खर्च भइसकेको बताए । देब्रे खुट्टामा स्टिल राखिएको छ । उनी अझै राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । ‘सरकारले घटनाका दोषीलाई कारबाही त गरेन,’ अधिकारीले भने, ‘राहतमा पनि हामीलाई अन्याय गरेको छ ।’
बाँदरमुढे घटनाका पीडितलाई दस लाख रुपियाँ राहत दिने भनिए पनि तीन लाख पचास हजार रुपियाँमात्रै दिइएको छ । घाइतेलाई ४० हजार मात्रै दिइएको छ । बाँदरमुढे घटनामा बुबा गुमाएका यमनाथ सुवेदी भन्छन्, ‘माओवादीकै कारण पीडित भएका हामीलाई माओवादी नै सरकारमा हुँदा पनि विभेद गर्‍यो ।’
स्मृतिसभा गरिने
बाँदरमुढे घटना पीडितले मंगलबार बिहान माडीको बाँदरमुढे स्मारकमा घटनामा ज्यान गुमाएकाको सम्झनामा स्मृतिसभा गर्ने भएका छन् । बाँदरमुढे घटना पीडित समितिको आयोजना र मानवअधिकारकर्मीको उपस्थितिमा दीप प्रज्वलनका साथै शोकसभा गरिने अध्यक्ष मुक्तिनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया