भट्टराईलाई बर्खास्त गर्न मोर्चाको आग्रह

काठमाडौं, २२ जेठ । बृहत मधेसी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदबाट हटार राजनीतिक गतिरोध अन्त्यका लागि पहल गर्न राष्ट्रपति डा.रामबरण यादवसँग आग्रह गरेको छ ।
यद्यपी, राष्ट्रपति डा.यादवले आफू संवैधानिक परिधी भन्दा बाहिर गएर कुनै काम नगर्ने स्पष्ट पारेका छन् । भेटमा सहभागी दलित जनजाति पार्टीका अध्यक्ष विश्वयन्द्र पाश्वानका अनुसार आफूहरुले भट्टराईलाई हटाएर अन्तरिम संविधानको रक्षा गर्न आग्रह गरेको बताए ।
‘संवैधानिक संकटबाट देशलाई निकास दिनुपर्छ,’ अध्यक्ष पाश्वानले भने, ‘प्रधानमन्त्री भट्टराईलाई हटाएर संविधानको संरक्षकका रुपमा निकास दिनुपर्छ भन्ने सुझाव दिएका छौं ।’
मोर्चाले भट्टराईलाई हटाएर चुनावी सरकार बनाउनु पर्ने तथा अन्तरिम संविधानका केही धारा संशोधन गर्न पनि सहमति आवश्यक रहेको जनाएको छ । मोर्चाले यथास्थितिमा कुनैपनि हालतमा निर्वाचन हुने नसक्ने समेत जनाएको छ ।
भट्टराईले प्रधानमन्त्री पद तत्काल नछाड्ने ठाने पछि मोर्चाले राष्ट्रपतिसँग उनलाई हटाउन आग्रह गरेको हो ।

प्रतिक्रिया