नेपालको दोहोरो हयाट्रिक

काठमाडौं : अघिल्ला सबै संस्करणको उपाधि विजेता नेपालले छैटौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार उपाधिमाथि दोहोरो हयाट्रिक पूरा गरेको छ । नेपालले ३५ स्वर्ण, २२ रजत र २९ कांस्य जित्दै छैटौंपटक उपाधि घरमै राख्न सफल भयो । भारतले ८ स्वर्ण, १७ रजत र ५ कांस्य जित्दै दोस्रो भयो । अर्को पाहुना टोली युएइ २ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ तेस्रो स्थानमा रहयो ।
नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको महिलामा नेपालकी कृषा शेर्पा तथा पुरुषमा दिवस श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । कृषाले ५ स्वर्णसहित १ रजत र १ कांस्य जितिन् भने दिवसले ४ स्वर्ण र १ रजत जिते । नेपालका लागि प्रतियोगिताको अन्तिम दिन पुरुष एकल काताको २० वर्षमुनि निरजकुमार श्रेष्ठ र २० वर्षमाथि सुमनकुमार कार्की पहिलो भए । पुरुषको २० केजीमा भारतका चेतन सिंह, २५ केजीमा भारतकै सिरोम ढाकड, ३० केजीमा नेपालका कृष्ण दर्नाल तथा ३५ केजीमा नेपालका प्रतीक कार्कीले स्वर्ण जिते । पुरुषको ४५ केजीमा नेपालका सुरज श्रेष्ठ, ५० केजीमा नेपालका विक्रम राई, ५५ केजीमा नेपालका विनोद रोका, ६० केजीमा नेपालका विनोद कार्की तथा ६७ केजीमा नेपालका दिवस श्रेष्ठले शीर्षस्थान कब्जा गरे । महिलाको ५० केजीमा नेपालकी कृषा शेर्पाले स्वर्ण चुमिन् । (सौस)

प्रतिक्रिया