राजीव नेतृत्वलाई मान्यता दिइएकोमा आपत्ति

काठमाडौं, २२ जेठ । राजीव श्रेष्ठ नेतृत्वको नेपाल बक्सिङ संघलाई मान्यता दिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णय तत्काल नसच्याइए कडा आन्दोलनमा उत्रने उक्त संघका पूर्वअध्यक्ष रविराज थापाको समूहले चेतावनी दिएको छ । राखेप सदस्य–सचिव युवराज लामाले मिलेमतो गरी राजीव नेतृत्वलाई मान्यता दिएको आरोप उक्त समूहले आइतबार प्रेस विज्ञप्तिमार्फत लगाएको छ ।
गत ७ फागुनमा प्रतिनिधि विवादमा तत्कालीन अध्यक्ष रविराज र उनको समूह निर्वाचन स्थगन गरेर बाहिरिए पनि अध्यक्षका उम्मेदवार राजीवले साधारणसभामा रहेका बाँकी सदस्यको बहुमतबाट आफ्नो अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेका थिए । तर पछि रवि थापा पक्षले उक्त निर्वाचनको विरोध गर्दै निर्वाचन बदर गर्न राखेपलाई पत्र लेखेको थियो । गत चैतमा राखेप बोर्डले सदस्य–सचिव लामालाई बक्सिङविवाद समाधान गर्ने जिम्मेवारी दिएको थियो । तर लामाले गत शुक्रबार राजीवको नेतृत्वलाई मान्यता दिएका थिए ।
‘हाल आएर उक्त विवादित विषयलाई राखेप सदस्य–सचिव युवराज लामाले एकपक्षीय ढंगले राजीव श्रेष्ठको नेतृत्वलाई मान्यता दिने निर्णय गर्नु शंकास्पद र मिलेमतोपूर्ण छ ।’ अस्पष्ट र हतार गरी लेखिएको जस्तो विज्ञप्तिमा उल्लेख छ, ‘उक्त शंकास्पद विवादास्पद मान्यताप्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । आगामी दिनमा उक्त निर्णय नसच्याए बक्सिङप्रेमीहरू कडा आन्दोलनमा उत्रने जानकारी गराउँदछौं ।’
आफूले दिएको निवेदनमा सदस्य–सचिव लामाले समाधान गर्ने वचन पटक–पटक दिएको र राखेपबाट कुनै प्रतिक्रिया नआएपछि आफूहरूले निर्वाचनको नयाँ मिति तोक्न राखेपमा निवेदन पनि दिएको पूर्वअध्यक्ष थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । (सौस)

प्रतिक्रिया