ली र फेरर चौथो चरणमा

पेरिस, २१ जेठ । विनावरीयताकी भर्भरा लोप्चेन्कोले सन् २०१० को संस्करणकी विजेता फ्रान्सेस्का सिआभोनेलाई पराजित गरी वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेकी छन् ।
शनिबार महिला एकलतर्फ तेस्रो चरणको भिडन्तमा इटालीकी सिआभाने अमेरिकन लोप्चेन्कोसँग ३–६, ६–३ र ८–६ ले पराजित भइन् । यसअघि ग्रान्डस्लाम टेनिसमा दोस्रो चरणभन्दा अगाडि बढ्न नसकेकी लोप्चेन्कोले सुरुआतमा कमजोर प्रदर्शन गरे पनि त्यसपछि सानदार पुनरागमन गरेकी हुन् ।
३ घन्टा २ मिनेटसम्म चलेको खेलमा गत संस्करणकी उपविजेतासमेत रहेकी सिआभोनेले अन्तिम समयसम्म संघर्ष गरेकी थिइन् । लोप्चेन्कोको यस सफलतासँगै सन् २००२ को विम्बल्डनपछि पहिलोपटक दुईजना विनावरीयताका अमेरिकन महिला खेलाडी ग्रान्डस्लाम प्रतियोगिताको चौथो चरणमा पुगे । यसअघि शुक्रबार मात्र विनावरीयताकी अमेरिकन स्लोआन स्टिफन्स पनि चौथो चरण प्रवेश गरिसकेकी छन् ।
उज्वेकिस्तानमा जन्मिएकी लोप्चेन्कोले गत वर्ष मात्र अमेरिकाको नागरिकता प्राप्त गरेकी थिइन् । उनले क्वार्टरफाइनल प्रवेशका लागि पेट्रा केभिटोभाको चुनौती सामना गर्नेछिन् ।
सोही स्पर्धाको अर्को खेलमा भने चौथो वरीयताप्राप्त केभिटोभा विजयी भइन् र चौथो चरण प्रवेश गरिन् । चेक गणतन्त्रकी यी स्टार खेलाडीले तेस्रो चरणमा रसियन रिना ब्राटचिकोभालाई ६–२, ४–६ र ६–१ ले हराएकी हुन् । सातांै वरीयताप्राप्त साविक विजेता ना ली पनि चौथो चरण पुगिन् । उनले आइतबार क्रिस्टिना मेकहेललाई २–६, ६–२ र ६–१ ले हराइन् । २२आंै वरीयताप्राप्त अनास्टासिया पेभ्ल्युचेन्कोभा पनि अगाडि बढेकी छन् ।
यता पुरुष स्पर्धामा शीर्षवरीयताका नोभाक जोकोभिकसँगै डेभिड फेरर, एन्डी मरे, जान्को टिप्सारेभिक र निकोलास अल्माग्रो पनि चौथो चरण प्रवेश गरेका छन् । तेस्रो चरणमा घरेलु खेलाडी निकोलास डेभिल्डरलाई सोझो सेटमा हराएर सर्वियन जोकोभिकले लगातार २४आंै ग्रान्डस्लाम जित हात पारे । २५ वर्षीय जोकोभिकले पछिल्ला तीन ग्रान्डस्लाम लगातार जितेका छन् । अब उनले थप लगातार चार ग्रान्डस्लाम जित हात पारेमा सन् १९६९ पछि लगातार चार ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी हुनेछन् । चौथो वरीयताका मरेले सान्टियागो गिराल्डोलाई सोझो सेटमा हराए भने सातौं वरीयताप्राप्त फेररले पनि मिखाइल यौज्नीलाई सोझो सेटमै पराजित गरे । बेलायती नम्बर–१ मरेले पहिलो सेट ६–३ र बाँकी दुई सेट समान ६–४ ले जिते । त्यसैगरी स्पेनिस फेररले २७आंै वरीयताप्राप्त यौज्नीलाई ६–०, ६–२ र ६–२ ले हराए ।

प्रतिक्रिया