कायरो : इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति होस्नी मुबारकलाई आजीवन कारावासको सजाय सुनाएको छ । गत वर्ष भएको मुबारकको शासनविरोधी प्रदर्शनमा प्रदर्शनकारीको हत्या गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । प्रदर्शन हुँदा इजिप्टको गृह मन्त्रालय सम्हालेका हबिब अल–एड्लीलाई पनि आजीवन कारावास सजाय सुनाइएको छ । यस्तै आरोप लागेका अन्य पाँच प्रहरी अधिकारीलाई भने रिहा गरिएको छ ।
मुबारकका छोरा आला तथा जमालमाथि लगाइएको भ्रष्टाचारको आरोप भने ‘समयसीमा नाघेको’ भन्दै अदालतले खारेज गरेको छ । मुबारकलाई पनि भ्रष्टाचारको एउटा आरोपमा सफाइ दिइएको छ । निर्णयपछि अदालतबाहिर दङ्गा भड्किएको थियो । (एएफपी)
प्रतिक्रिया