थाई युवतीको चक्करमा पारस

काठमाडौं, २१ जेठ । पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीको गहिरो प्रेममा परेका छन् । तीन छोराछोरीका बाबु पारसले थाई प्रेमिकाकै कारण तीन महिनादेखि परिवारसितको सम्पर्कसमेत टुटाएका छन् ।

निर्मलनिवास स्रोतका अनुसार पारस बैंककमा थाई प्रेमिकासित नै बस्ने गरेका छन् । केही समयअघि श्रीमती हिमानी बैंकक पुग्दासमेत उनी सम्पर्कमा आएनन् । करिब एक साता बैंकक बस्दासमेत पारस सम्पर्कमा नआएपछि उनी निराश भएर काठमाडौं फर्केकी थिइन् ।
डेढ वर्षअघिदेखि पारस बैंककमा बस्न थालेका हुन् । उनले छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि पढाउन उतै लगेका थिए । सुरु–सुरुमा काठमाडौं आउने–जाने गरे पनि १० महिनादेखि भने पारस काठमाडौं

आएकै छैनन् । तीन महिनादेखि त उनी बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमती हिमानीको फोन सम्पर्कमा समेत आएका छैनन् । उनले आफूले प्रयोग गर्ने गरेको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरेका छन् ।
स्रोतका अनुसार पारसका साथीहरूले निर्मलनिवासमा खबर पुग्नेगरी उनी थाई युवतीको प्रेममा फसेको जानकारी गराएका छन् । विगतमा एकपटक ती युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् । ती युवती निकै सुन्दरी भएको पारसनिकट स्रोतको भनाइ छ । पारस काठमाडौंमा हँुदा पनि एक नेपाली युवतीले उनलाई निकै मन पराउने गरेको पारसका एक सहकर्मीले बताए ।
थाई प्रेमिकाकै कारण पारस काठमाडौं आउन छाडेको स्रोतको दाबी छ । सुरुमा बैंककमा छोराछोरीसँगै बस्ने गरेका उनीपछि प्रेमिकासँगै बस्ने गरेका थिए । क्रमश: उनले परिवारसितको सम्पर्कसमेत टुटाए । स्रोतका अनुसार पछिल्लो समयमा त पारस साथीहरूको सम्पर्कमा आउनसमेत त्यति रुचाउँदैनन् ।
पारसले छोराछोरीको ख्याल गर्नसमेत छाडेपछि केही समयअघि हिमानी बैंकक पुगेकी थिइन् । एक साता बस्दासमेत पारस उनको सम्पर्कमा आएनन् । पारससित भेटै नभई उनी छोराछोरीलाई लिएर काठमाडौं फर्किन् ।
बुबा ज्ञानेन्द्रसितको खटपटका कारण पनि पारस काठमाडौंसित विरक्तिएको स्रोतले जनाएको छ । काठमाडौंमा हँुदा नै पारस परिवर्तित राजनीतिक अवस्था र परिवारबाट पनि ‘फ्रस्टेड’ भएका थिए । आफूले गर्न खोजेका राम्रा काममा पनि बुबाले साथ नदिएको गुनासो उनले साथीहरूसित गर्ने गरेका थिए । ‘उहाँ(पारस) जे गर्न खोज्नुहुन्थ्यो, बुबाले रोकिदिनुहुन्थ्यो । त्यसैले पनि उहाँ बुबासित दिक्क हुनुभएको थियो,’ पारसका एक साथीले सौर्यसँग भने ।
स्रोतका अनुसार पारस युवालाई समेटेर नयाँ ढंगबाट अघि बढ्न चाहन्थे । उनी आफ्नो गलत छवि सुधार्न चाहन्थे । त्यसैले उनी एक/दुईपटक पत्नीले ‘हिमानी ट्रस्ट’का नामबाट सुुरु गरेको सामाजिक कार्यमा समेत सहभागी भएका थिए । तर, बुबा ज्ञानेन्द्रले भने आफूलाई कहिल्यै विश्वास नगरेको भन्दै उनी खिन्न हुन थालेका थिए । इच्छा भएर पनि उनी बुबाकै कारण मिडियामा आउन पाएका थिएनन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको निधन भएपछि पारस श्रद्धाञ्जली दिन पशुपति आर्यघाट जान खोजेका थिए तर पूर्वराजा ज्ञानेन्द्रले ‘परिस्थिति अनुकूल नभएको’ भन्दै उनलाई त्यहाँ जानबाट रोके । स्रोतका अनुसार पारसका गतिविधि अपरिपक्व हुने ज्ञानेन्द्रको निष्कर्ष थियो । ‘त्यसपछि उहाँमा केही गरौँ भन्ने महत्त्वाकांक्षा हरायो,’ पारसनिकट स्रोतले भन्यो ।
मुलुकमा गणतन्त्र घोषणासँगै राजतन्त्रको अन्त्य भएपछि पारस विरक्तिन थालेका थिए । त्यतिबेलैदेखि उनी कहिले देशमा र कहिले विदेशमा बस्न थालेका थिए । बैंकक बस्न थालेपछिको केही समयसम्म पनि उनले साथीभाइसित देशको राजनीतिक अवस्थाबारे जानकारी लिने गरेका थिए । उनी त्यतिन्जेल साथीहरूको नियमित सम्पर्कमा थिए । ‘नेपालको राजनीतिक स्थिति के छ ? नयाँ संविधान बन्छ कि बन्दैन ?’ भनेर उनले साथीहरूसित चासो राख्ने गरेका थिए । ‘अहिले उहाँलाई यस्ता विषयको केही मतलव छैन, परिवारको त चासो राख्न छाड्नुभएको छ,’ पारसनिकट स्रोतले भन्यो ।

प्रतिक्रिया