भान्सेको रहस्यमय मृत्युपछि त्रिवि छात्रावासमा सन्त्रास

काठमाडौं, २० जेठ । त्रिभुवन विश्वविद्यालयको ईश्वरी कन्या छात्रावासमा भान्सेको काम गर्दै आएकी महिलाको रहस्यमय मृत्युपछि छात्रावासका छात्रामा त्रास छाएको छ । छात्रा एउटा कोठामा एक्लै बस्न नसक्ने अवस्थामा पुगेका छन्, कोही घर फर्किनाका साथै कोही आफन्तकहाँ जान थालेका छन् ।

छात्रावासमा सोमबार साँझ खाना पकाएर छात्राहरूलाई खुवाएकी कर्मा लामा मंगलबार छात्रावासमा देखापरेकी थिइनन् । कर्माको रहस्यमय मृत्यु भएको खबर बुधबार पाएपछि छात्रामा त्रास छाएको हो । बिहीबार र शुक्रबार गरी ६ भन्दा बढी छात्रा घरतर्फ लागेका छन् । उनीहरूले सेºटीट्यांकीबाट कर्मालाई बुधबार मृतावस्थामा निकालिएको प्रत्यक्ष हेरेका थिए ।
‘सोमबार हामीलाई दिदी (कर्मा लामा)ले खाना पकाएर खुवाउनुभएको थियो, बुधबार मृत्यु भएको थाहा पाएपछि डरलाग्दो स्थिति छ,’ छात्रावासमा बस्दै आएकी स्नातकोत्तर तह प्रथम वर्षकी एक छात्राले भनिन्, ‘कर्मा दिदीको रहस्यमय मृत्यु भएको थाहा पाएपछि केही साथी घरतिर लागेका छन्, कोठामा एक्लै भएका साथीहरू समूहमा बस्यौँ ।’ बिहीबार राति पनि एक्लै भएका छात्रा समूहमा बसेका थिए ।
उनीहरू राति कर्मालाई सम्झेर झस्कने गरेका छन् । एक छात्राले भनिन्, ‘उहाँले झ्यालबाट खाना खान आऊ भन्दै बोलाएको सम्झेर यहीँ आएजस्तो लाग्छ, रात परेपछि डर लाग्छ ।’
छात्रावासको पाँच ब्लकमध्ये कर्मा ‘क’ र ‘ख’ का छात्राका लागि मेस चलाउँथिन् । कर्माको मृत्युको रहस्य अहिलेसम्म खुलेको छैन । महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी टेकबहादुर तामाङका अनुसार उनको मृत्युका विषयमा धेरै उजुरी तथा प्रमाण आएको र अनुसन्धान जारी रहेको बताए । डिएसपी तामाङका अनुसार ०५८ सालमा बिहे भए पनि अहिलेसम्म बच्चा नजन्मिएका कारण उनको पतिसँग झगडा भइरहन्थ्यो । कर्माको माइती पक्षले घटनाको निष्पक्ष छानबिनका लागि माग गरेको छ ।

प्रतिक्रिया