काठमाडौं, १९ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले विश्वासका सबै आधारहरु गुमाइसके पछि आफूहरु बाध्य भएर जनता समक्ष जान लागेको बताएका छन् ।
कोइरालासँग भेट्न कोइराला निवास महाराजगञ्जमा आज विहान पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग कोइरालाले सो कुरा बताएका हुन् ।
कांग्रेसले बिगत देखि एमाओवादीको विश्वास गर्दै आएको र ‘धेरै कुरा दिदैगएको’ स्मरण गराउदै कोइरालाले अब आफूहरु संवैधानिक र राजनीतिक लडाईमा जान बाध्य भएको जानकारी प्रधानमन्त्री भट्टराईलाई गराएका छन् ।
प्रधानमन्त्री भट्टराईले आफू कामचलाउ प्रधानमन्त्री मात्र भएको जनाउदै नेताहरु बसेर सहमति खोजे आफू जस्तो सुकै निर्णय मान्न तयार रहेको बताए ।
जवाफमा सभापति कोइरालाले विश्वासिलो वातावरण नभएकाले आफूहरु जनता समक्ष जानु पुनः दोहराएका थिए ।
‘एमाओवादी नेतृत्वमा सत्ता कब्जाको मानसिकता कायमै रहेकाले समस्या बल्झिइरहेको कुरा मैले प्रधानमन्त्रीजीलाई स्पष्ट रुपमा भनेको छु,’ कोइरालाले भने, ‘सहमतिको सरकार बनाउन मद्दत गरेको स्मरण गराउदा तपाईहरु बसेर सहमति गर्नुस मात्र भन्नुभयो ।’
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले तत्काल एमाओवादी सहितका दलहरु बसेर सहमति खोज्ने सम्भावना नरहेको बताए ।
‘उहाँहरुले अविश्वासको पस्थिति बनाउनु भयो,’ कोइरालाले भने, ‘त्यसकारण अहिले हामी हाम्रा संघर्षका कार्यक्रममा व्यस्त छौ ।’
न्यायाधीश रणबहादुर बमको हत्याको सन्दर्भ उठाउदै कोइरालाले प्रधानमन्त्री भट्टराईलाई सुरक्षाको अवस्थाका बारेमा समेत ध्यानाकर्षण गराएको जनाए ।
संविधानसभा विघटन पछि दलहरुका वीच अविश्वास बढि रहेका समयमा भट्टराईले आज सभापति कोइरालासँग भेट गरेका हुन् । यस अघि हिजो भट्टराईले एमाले अध्यक्ष झलनाथ खनालसँग भेटगरेका थिए ।
प्रतिक्रिया