थापाथली क्याम्पसमा दुई निमित्त प्रमुख

काठमाडौं, १८ जेठ । थापाथली इन्जिनियरिङ क्याम्पसमा दुईजनालाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएपछि विवाद चर्किएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको उक्त क्याम्पसका तत्कालीन प्रमुख र इन्जिनियरिङ अध्ययन संस्थानका डिनले छुट्टाछुट्टै निमित्त प्रमुख तोकेपछि विवाद बढेको हो ।
दुईजनालाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि विवाद चुलिएर डिन कार्यालयमा मंगलबारदेखि तालाबन्दीसमेत भएको छ । तत्कालीन क्याम्पस प्रमुखले १२ जेठदेखि लागू हुने गरी डा. हरिराम पराजुलीलाई र डिन डा. भरत पहारीले १३ जेठदेखि लागू हुने गरी मोहनकृष्ण श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका थिए । तत्कालीन क्याम्पस प्रमुख न्हुच्छेशोभा तुलाधरको कार्यकाल १३ जेठमा सकिएको थियो ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन थापाथली र पुल्चोक क्याम्पस इकाइ कमिटीले सहमतिविपरीत डिनले थापाथली क्याम्पसमा दुईजना निमित्त प्रमुख बनाई अस्थिरता उत्पन्न गराएको आरोप लगाएका छन् । डिन डा. पहारीले भने तत्कालीन क्याम्पस प्रमुखले दिएको निमित्तको जिम्मेवारी उनको कार्यकाल सकिएपछि स्वत: खारेज भएको दाबी गरे ।
‘डिनसँग सहमति गरेर तत्कालीन क्याम्पस प्रमुखले निमित्त प्रमुखको जिम्मेवारी डा. हरिराम पराजुलीलाई दिएका थिए तर सहमतिविपरीत अर्को दिन डिनले मोहनकृष्ण श्रेष्ठलाई नियुक्ति दिए,’ प्राध्यापक संगठनको पुल्चोक क्याम्पस इकाइ कमिटी अध्यक्ष चन्द्रलाल गुरुङले भने, ‘डिनले अस्थिरता सृजना गर्न खोजेकाले डिनको कार्यालयमा ताला लगाएका हौँ ।’ उनीहरूले क्याम्पस प्रमुखको अधिकारक्षेत्रमाथि सिधै हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
प्राध्यापक संगठनले दुईजना निमित्त प्रमुखबीच तनाव हुने भन्दै थापाथली क्याम्पस प्रमुखको कार्यकक्षमा समेत ताला लगाएको छ ।
डिन डा. पहारीले प्राध्यापकहरूले निमित्त प्रमुखको विषयलाई लिएर राजनीति गरेको आरोप लगाए । तत्कालीन क्याम्पस प्रमुखले आफूलाई नसोधी कार्यकाल एक दिन मात्र बाँकी रहँदा अर्कोलाई निमित्त दिएको उनले बताए । ‘मलाई सोधेको भए उहाँले भनेकै व्यक्तिलाई नियुक्ति दिने थिएँ तर त्यसबेला मलाई थाहै नदिएकाले क्याम्पस चलाउने अर्को व्यक्ति नियुक्त गरेँ,’ उनले भने, ‘तत्कालीन प्रमुखले दिएको निमित्तको जिम्मेवारी उहाँको कार्यकाल रहुन्जेल हो, उहाँको कार्यकाल सकिएको छ र उहाँले निमित्त दिएका व्यक्तिको वैधता छैन ।’
प्राध्यापकहरूले आर्थिक पारदर्शितालगायत धेरै मुद्दा उठाएका छन् । गत मंसिरमा पाँचजना उपप्राध्यापक नियुक्त गरिएकोमा स्थायी प्राध्यापक कम भएको थापाथली क्याम्पसमा नियुक्ति नगरी पुल्चोक इन्जिनियरिङमा ल्याएको आरोपसमेत लगाएका छन् । त्यसैगरी क्याम्पसमा ज्यालादारी टेक्निसियन नियुक्त गर्न खोज्दा काममा बाधा पुग्ने गरी रोक लगाएको आरोपसमेत उनीहरूले लगाएका छन् ।
संगठनले इन्जिनियरिङ कन्सल्टेन्सी सेवा तथा डिन प्रशासनअन्तर्गतका सिइएस, सिइडी, सिएआइडीजस्ता केन्द्रहरूको आयस्रोत तथा गतिविधि पारदर्शी हुनुपर्ने माग गरेको छ । उनीहरूले विचारका आधारमा सहायक डिनहरू, क्याम्पस प्रमुखहरू तथा पदाधिकारीको अधिकारक्षेत्रमाथि डिनको
हस्तक्षेप रोकिनुपर्ने माग राखेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका क्याम्पसलगायत पुल्चोक क्याम्पसको समेत शैक्षिक गुणस्तर विगतको
भन्दा खस्कँदै गएको प्राध्यापकहरूको दाबी छ । डिन नै निजी कलेजमा संलग्न भएको र उनको अक्षमताका कारण नतिजा कमजोर भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया