निर्वाचनविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ

काठमाडौ, १८ जेठ । नेपाली कांग्रेसले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले घोषणा गरेको संविधानसभा निर्वाचनविरुद्ध संवैधानिक र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समितिको बैठकले घोषित निर्वाचन कानुनसम्मत नभएको ठहर गरेको छ ।

सरकारको कदमविरुद्धमा रहेका दलसँंग छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने बैठकको निष्कर्ष छ । केन्द्रीय सदस्य मानबहादुर विकले सरकारको असंवैधानिक कदमविरुद्ध कांग्रेसले संवैधानिक र राजनीतिक लडाइँ लड्ने बताए ।
यसैगरी बैठकले पार्टीको आन्तरिक संगठन सुदृढ बनाउँदै गाउँ तहसम्म संगठन परिचालन गर्ने निर्णय पनि गरेको छ । जिल्ला, क्षेत्र र गाउँसम्मको संगठन परिचालन र पार्टीले लिएर जाने एजेन्डा तय गर्न पार्टी महामन्त्रीलाई जिम्मेवारी दिइने भएको छ । पार्टीको संगठन चुस्त राख्न र उनीहरूको गतिविधिको अनुगमन गर्न एक केन्द्रीय सदस्य खटाइने पनि निर्णय भएको छ ।
उता केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै देउवा पक्षको बुधबार नै छुट्टै बैठक बसेको थियो । बैठकले सरकारको असंवैधानिक कदमविरुद्ध पार्टीका सबै निकाय परिचालन गर्ने निर्णय गरेको नेताहरूले बताएका छन् । देउवा निवासमा बसेको बैठकमा नेतृत्वलाई पार्टीभित्रको आन्तरिक विवादमा स्पष्ट भएर अघि बढ्न पनि आग्रह गरिएको थियो ।
बैठकमा सहभागी नेताहरूले अन्य बैठकमा नेतृत्व सहभागी भएको तर केन्द्रीय समिति मात्र बहिष्कार गरेर केन्द्रीय सदस्यहरूलाई मात्र बन्धक बनाइएको गुनासो गरेका थिए । ‘तपार्इंहरू सभापति सुशील कोइराला सहभागी भएको बैठकमा लुरुलुरु जानुहुन्छ,’ एक केन्द्रीय सदस्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अनि किन केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने ?’

विवाद नमिलाए गाउँ नजाने
कांग्रेसका निवर्तमान संविधानसभा सदस्यले पार्टीभित्रको आन्तरिक विवाद समाधान नभएसम्म गाउँ नजाने बताएका छन् । संविधानसभा विघटन भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार भएको छलफलमा पार्टी नेतृत्वलाई विवाद मिलाउन उनीहरूले आग्रह गरेका थिए । सभासद्ले पार्टी एक ढिक्का नभएसम्म जिल्ला नजाने अडान राख्दै तत्काल विवाद समाधान गर्न आग्रह गरेका हुन् । विभाजित मनस्थितिमा गाउँ जान नसक्ने उल्लेख गर्दै उनीहरूले नेतृत्वबीच एकता नभएसम्म गाउँ जानाको कुनै अर्थ नरहेको बताए ।
‘पार्टी एक ढिक्का नभएसम्म गाउँ जानाको अर्थ छैन,’ उनीहरूले भने, ‘पार्टी नेतृत्वबीच एउटै धारणा बनेपछि मात्र गाउँ जानेछाँैं ।’
निर्वतमान सभासद् चक्रबहादुर ठकुरीले पार्टीभित्रको विवाद समाधान नभएसम्म कार्यकर्ता मात्र गाउँ गएर केही नहुने बताए । गाउँ जानुअघि केन्द्रको विवाद समाधान गर्न उनले नेतृत्वलाई आग्रह गरेका थिए । विभाजित मन:स्थितिमा जिल्ला फर्कन नसक्ने भन्दै चाँडोभन्दा चाँडो पार्टी एक भएको सन्देश दिन नेतृत्वलाई आग्रह गरिएको निर्वतमान सभासद् जगदीशनरसिंह केसीले जानकारी दिए । ‘सानातिना विषयमा पार्टी नेतृत्व अल्झिन भएन, सबै विवाद समाधान गर्नुपर्‍यो भन्ने साथीहरूको भावना थियो,’ उनले भने ।
उनीहरूसँंगको छलफलमा सभापति कोइरालाले पुन: संविधानसभाको चुनाव हुने अवस्था नरहे पनि संगठन सुदृढ बनाएर अघि बढ्न आग्रह गरेका थिए । कोइरालाले गाउँ गएर पार्टीको पक्षमा जनमत बनाउन आग्रह गरे । ‘संविधानसभाको चुनाव हुन सक्छ या सक्दैन, आफ्नो ठाउँमा छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तर जुनसुकै बेला अर्को चुनाव हुनसक्छ, त्यसको तयारी हामीले गर्नु पर्छ ।’
देउवा पक्षले बार्गेनिङ मात्र गरेको आरोप लगाउँदै कोइरालाले पार्टी नै देउवालाई सुम्पिने हो भने आफू छाड्न तयार रहेको बताए । नेविसंघसहित भ्रातृ संगठनमा देउवा पक्षलाई स्थान दिइएको दाबी गर्दै उनले भने, ‘तपाईंहरू मलाई मात्र पार्टी मिलाउनुपर्‍यो भन्नु हुन्छ, शेरबहादुरलाई पनि भन्नुस् ।’
त्यसअघि सभापति कोइरालाले बुधबार बिहान आफ्नो निवास पुगेका पार्टी कार्यकर्तालाई गाउँ–गाउँ जान निर्देशन दिएका थिए । कोइरालाले पार्टीलाई जनताका माझ सशक्त बनाउन र पार्टीको आधिकारिक धारणा पुर्‍याउन आग्रह गरेका थिए । राष्ट्रिय सहमतिका आधारमा मुलुकमा जुनसुकै बेला नयाँ निर्वाचन हुनसक्ने उल्लेख गर्दै कोइरालाले सहमतिको वातावरण बन्नेबित्तिकै निर्वाचनमा जाने परिस्थिति निर्माण हुने धारणा राखेका थिए ।

प्रतिक्रिया