कांग्रेस/एमाले गठबन्धनमा छैनौः फोरम नेपाल

काठमाडौ, १७ जेठ । मधेसी जनअधिकार फोरम नेपालले कांग्रेस/एमालेले नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाहिरै रहेको जनाएको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अलग रुपमा आन्दोलनमा जाने बताए । उनले सरकारको कदम असंवैधानिक रहेपनि कांग्रेस/एमालेसँग गठबन्धन गर्न नसक्ने जनाए ।
राष्ट्रपतिको पछिल्लो कदमको स्वागत गर्दै महासचिव यादवले राष्ट्रिय सहमतिकै आधारमा नयाँ सरकार गठन गर्न माग गरेका छन् ।
‘एमाओवादी, कांग्रेस र एमाले मधेस विरोधी पार्टी हुन,’ उनले भने, ‘तीन वटै दललाई समान रुपमा हेर्ने भएकाले कसैको गठबन्धनमा बस्दैनौं ।’
बृहद मधेसी मोर्चा कायमै रहेको भन्दै उनले सरकारको कदमको विरोध गर्न नसक्ने सत्ता पक्षीयहरुले आफ्नो पार्टी मोर्चामा नरहेको घोषण गरेको आरोप लगाए । उनले भने, ‘हाम्रो पार्टीलाई मोर्चामा छैन भन्नेहरु अहिले सरकारमा भएका मधेसवादी र एमाओवादी दलहरु हुन ।’

प्रतिक्रिया