वीरमा नियमविपरीत कर्मचारी भर्ना

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले फेरि नियमविपरीत कर्मचारी भर्ना गरेका छन् । अस्पतालमा आवश्यक कर्मचारी निर्देशकले नियुक्त गर्न नपाउने भए पनि थापाले ‘सेसन बेसिस’मा भन्दै १२ जनालाई नयाँ नियुक्ति दिएका छन् ।
न्याम्सको विधानअनुसार स्थायी नियुक्ति गर्ने अधिकार सेवा आयोगलाई र बढीमा ६ महिनाका लागि करार नियुक्तिको अधिकार उपकुलपतिलाई मात्र छ । यसका साथै निर्देशकले अस्पतालमा बढीमा एक लाख रुपियाँसम्मको मात्र खर्च गर्न पाउने अधिकार छ । तर, निर्देशक थापाले १३ हजारका दरले तलब पाउने गरी सेसन बेसिसमा उनीहरूलाई नियुक्ति दिइसकेको अस्पताल स्रोतले जनाएको छ ।
गत वर्ष थापाले आफ्नो अधिकारबाहिर रहेर कर्मचारी भर्ना गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले नियमिविपरीत भर्ना गरिएका ४० भन्दा बढी कर्मचारीलाई हटाउन र उनीहरूलाई दिइएको कुल एक करोड रुपियाँ उठाउन न्याम्सलाई निर्देशन दिएको थियो ।
सर्तकताले आइन्दा हचुवाका भरमा कर्मचारी भर्ना नगर्न निर्देशन दिएको एक वर्ष पनि नबित्दै थापाले चिकित्सक, नर्स, अहेव तथा कम्प्युटरका लागि कर्मचारी भर्नापछि कर्मचारी युनियन आन्दोलित भएको छ । युनियनले थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने तयारी गरिरहेको जनाइएको छ । युनियनका सचिव दीपक मुडभरीले यसअघि पनि निर्देशक थापाले अस्पतालमा गरेको अनियमितताको सतर्कता  केन्द्रले पुष्टि गरेकाले पुन: उनीविरुद्ध मुद्दा हाल्ने तयारी भएको बताए । (सौस)

प्रतिक्रिया