नेपाललाई हाइस्कुल कराते उपाधि

काठमाडौं, १६ जेठ । नेपाल सितोरियो कराते डो संघ, हाइस्कुल केन्द्रीय कमिटीद्वारा आयोजित १८औं अन्तर्राष्ट्रिय हाइस्कुल कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि नेपालले जितेको छ । टिम च्याम्पियन नेपालले २३ स्वर्ण, १८ रजत र ५५ कांस्य जित्यो । भारत १४ स्वर्ण, २१ रजत र २३ कांस्यका साथ दोस्रो भयो भने ३ स्वर्ण १ रजत र २ कांस्य जितेको बंगलादेशले तेस्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको कुमुतेतर्फ जुनियरको पुरुषमा आकाश पाल तथा महिलामा कर्मा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । कुमुतेकै सिनियरको पुरुषमा राजीव रञ्जित तथा महिलामा सरिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै नेपालका हुन् । नेपालकी सिर्जना सापकोटा उदीयमान खेलाडी ठहरिइन् । पोखराको हिमाल बालकल्याण माविले अनुशासित टिमको उपाधि हात पार्‍यो । मार्च पासमा काठमाडौंको बालअंगुर मावि अगाडि रहयो ।
प्रतियोगिताको अन्तिम दिन सोमबार कुमुतेतर्फ पुरुषको १५ केजीमा भारतका करण पाटिल, ३० केजीमा नेपालका सुरज परियार, ३५ केजीमा बंगलादेशका सज्जाद होसैन, ४० केजीमा नेपालका सुजन श्रेष्ठ, ४५ केजीमा नेपालका विकास मोक्तान, ५० केजीमा नेपालका निरञ्जन खड्का तथा ५५ केजीमा नेपालकै शैलेश राईले स्वर्ण जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको कुमुतेतर्फ महिलाको ६८ केजीमाथि नेपालकी कविता राजथला, २० केजीमा नेपालकी पुष्पा लामा, २५ केजीमा नेपालकी विनीता महर्जन, ३० केजीमा नेपालकी करुणा श्रेष्ठ, ३५ केजीमा नेपालकी एलिसा लामा, ५० केजीमा नेपालकी रोजिता रञ्जित, ५५ केजीमा नेपालकी सम्झना घिसिङ, ४० केजीमा नेपालकी कुसुम खड्का, ४५ केजीमा नेपालकी अर्मिला डिसी, ६१ केजीमा नेपालकी मनीषा मोक्तान तथा ६८ केजीमुनि नेपालकी सुमित्रा सुलुले शीर्षस्थान कब्जा गरे । जुनियर महिला एकल कातामा नेपालकी निर्मला तामाङले स्वर्ण जितिन् ।
किक बक्सिङतर्फ पुरुषको ६५ केजीमा नेपालका अर्विन्द निशाद, ५५ केजीमा नेपालका मिर्साद हुसैन, ६० केजीमा नेपालका अमृत राउत तथा ५० केजीमा नेपालका लक्ष्मण बस्नेतले पहिलो स्थान हात पारे । किक बक्सिङकै महिला ४५ केजीमा नेपालकी कर्मा तामाङ, ६० केजीमा नेपालकी सिर्जना सापकोटा तथा ६८ केजीमाथि नेपालकी जस्मिन श्रेष्ठले फाइनलमा बाजी मारे ।
विजेतालाई नेपाल कराते डो महासंघ तथा नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेश श्रेष्ठ, प्रभु फाइनान्सकी म्यानेजर चिजा पौडेललगायतले पुरस्कृत गरेका थिए । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत र बंगलादेशका १ हजार १ सय खेलाडीले ४० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया