युरो तयारीमा “वार्म–अप” खेल


लन्डन, १५ जेठ । युरोपियन च्याम्पियनसिप सुरु हुन करिब दुई साता मात्र बाँकी रहँदा शनिबार भएका ‘वार्म–अप’ खेलमा साविक विजेता स्पेन विजयी भयो भने नेदरल्यान्ड्स र जर्मनी पराजित भएका छन् ।
सर्बियालाई २–० ले पराजित गरी विश्वकप विजेतासमेत रहेको स्पेनले उपाधि रक्षाका लागि बलियो चुनौती पेस गर्‍यो । स्पेनबाहेकका युरोपका बलिया टोली भने स्तब्ध भए । बायर्न म्युनिखका स्टार खेलाडीविना नै उत्रिएको जर्मनी स्विजरल्यान्डविरुद्ध ५–३ ले पराजित भयो भने विश्वकप उपविजेता नेदरल्यान्ड्सले बल्गेरियालाई २–१ ले खेल सुम्पियो । जर्मनी र नेदरल्यान्ड्स युरोकपको एउटै समूहमा छन् । यी बाहेक शनिबार मेसोडोनियाविरुद्ध गोलरहित बराबरी खेलेको पोर्चुगल र ब्राजिलविरुद्ध ३–१ ले पराजित भएको डेनमार्क पनि सोही समूहमा छन् ।
रोय हड्सनको प्रशिक्षणमा आएयता पहिलो खेल खेलेको इङ्ल्यान्डले नर्वेलाई १–० ले हरायो । पोल्यान्ड र युक्रेनले संयुक्त रूपमा आसन्न युरोकप आयोजना गर्दै छन् ।
चोटका कारण युरोकप गुमाएका डेभिड भिल्लाको स्थानमा खेलेका एड्रिआन लोपेजले स्पेनका लागि ६४आंै मिनेटमा गोल गरी ‘डेब्यु’ खेललाई स्मरणीय बनाए । ७४आंै मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई शान्ति काजोर्लाले सदुपयोग गरी स्पेनको अग्रता दोब्बर बनाएका थिए । शुक्रबार मात्र कोपा डेल रे जितेको बार्सिलोनाका स्टार खेलाडीविना नै प्रशिक्षक भिन्सेट डेल बोस्क्यु सर्वियाविरुद्ध बलियो चुनौती पेस गर्न सफल भए । गत वर्ष स्पेनले यु–२१ युरोपियन च्याम्पियनसिप उपाधि जित्दा एड्रियन सर्वाधिक गोलकर्ता भएका थिए । एड्रियनलाई नै सर्वियाका ब्रानिस्लाभ इभानोभिकले लडाएपछि स्पेनले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
युरोकपमा स्पेनको बलियो प्रतिद्वन्द्वी मानिएको जर्मनीले भने अभ्यासमा पहिलो खेलमै निराशाजनक नतिजा आत्मसात गर्‍यो । स्विजरल्यान्डका इरेन डर्डियोकले जर्मनीविरुद्ध हयाट्रिक पूरा गरेका थिए । युरोकपमा यसपटक स्विजरल्यान्ड भने छैन । जर्मनीका लागि म्याट्स हुम्मेल्स, आन्द्र सुर्ले र वैकल्पिक मार्को रुइजले गोल गरेका थिए । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा गत साता चेल्सीविरुद्ध पराजित भएको बायर्न म्युनिखका राष्ट्रिय खेलाडीलाई जर्मनीले पहिलो अभ्यास खेलमा आराम दिएको थियो । सुरुआती अग्रता लिएर पनि नेदरल्यान्ड्सले आफूस्तरको प्रदर्शन गर्न सकेन । वेस्ली स्नाइडरको पासमा पहिलो हाफमा रविन भान पर्सिएले गरेको गोलमा अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा भने दुई गोल व्यहोर्‍यो । इभेलिन पोपोभको पेनाल्टी गोलमा खेललाई बराबरीमा ल्याइपुर्‍याएको बल्गेरियाका लागि इन्जरी समयमा वैकल्पिक इलिआन मिकान्स्कीले निर्णायक गोल गरेका हुन् ।
ओस्लोमा भएको खेलमा इङल्यान्डलाई जित दिलाउन एस्ली कोलले नवांै मिनेटमा गरेको गोल नै निर्णायक भयो । एन्ड्रि क्यारोलको पासमा कोलले इङल्यान्डलाई खेलको सुरुआतमा अग्रता दिलाएका थिए । मेसिडोनियाको मैदानमा उत्रिएको पोर्चुगल क्रिस्टियानो रोनाल्डोको आक्रामक प्रदर्शनका बाबजुद विपक्षीको मजबुत डिफेन्स लाइनअपसामु गोल गर्न असफल रहे ।
लन्डन ओलम्पिक खेलकुदअघि चार म्याचका लागि भ्रमणमा निस्किएको डेनिस टोलीले भने नमीठो हार व्यहोर्‍यो । ब्राजिलका एफसी पोर्टो स्ट्राइकर हल्कले डेनमार्कविरुद्ध दुई गोल गरे । सन् २००४ को युरोपियन च्याम्पियन ग्रिस भने स्लोभाकियाविरुद्ध १–१ ले बराबरीमा रोकियो ।

स्पेनद्वारा युरो टोली घोषणा
रोबर्टो सोल्डाडोलाई टिमबाहिर राख्दै स्पेनले युरोकपका लागि आइतबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक भिन्सेन्ट डेल बोस्क्युले स्ट्राइकरमा सोल्डाडोको स्थानमा सेभिल्लाका स्ट्राइकर अल्भेरो नग्रेडोलाई ल्याएका छन् ।
स्पेनको २३ सदस्यीय टोलीमा गोलकिपरतर्फ इकेर कासिलास, जोजे रैना र भिक्टोर भाल्डेस छन् । त्यस्तै डिफेन्डरतर्फ जुआनफ्रान, अल्भारो अर्बेलोआ, राउल अल्बिओल, सर्जिओ रामोस, जोर्दी अल्बा, गेरार्ड पिक, जावी मार्टिनेज छन् । त्यस्तै मिडफिल्डरमा जावी आलोन्सो, शान्ति काजोर्ला, जावी हर्नान्डेज, सेस्क फेब्रिगास, आन्द्रेस इनेस्टा र सर्जिओ बस्क्वेट्स छन् । नग्रेडो र पेड्रोका अतिरिक्त डेभिड सिल्भा, जेसस नाभास, जुआन माटा, फर्नान्डो टोरेस र फर्नान्डो लोरेन्टले स्पेनिस टोलीको अग्रपंक्ति सम्हाल्नेछन् ।

प्रतिक्रिया