आपत्कालीन बैठक बस्ने

कुबेत सिटी : सिरियाली सैनिकले मुलुकमा नरसंहार मच्चाएको भन्दै आवश्यक छलफलका लागि अरब लिगमा आबद्ध राष्ट्रका विदेश मन्त्रीहरूको आपत्कालीन बैठक बस्ने भएको छ । लिगको अध्यक्षता गरिरहेको राष्ट्र कुबेतले आइतबार आपत्कालीन बैठक बस्ने जनाएको हो ।
सिरियामा सैनिकको आक्रमणबाट शनिबार ३२ बालबालिकासहित ९२ जनाको मृत्यु भएपछि कुबेतले लिगका विदेशमन्त्रीको बैठक डाकेको हो । हौला नगरमा सिरियाली सैनिकले घेरा हाली प्रदर्शनकारीमाथि आक्रमण गर्दा यति ठूलो संख्यामा मानिसको मृत्यु भएको बताइन्छ । आक्रमणबाट मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेको जनाइएको छ ।
संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद–अल नाहायानले अरब लिगको आपत्कालीन बैठक आह्वान गरिएको जानकारी दिए । (एएफपी)

प्रतिक्रिया