मधेसी नेताहरू लचिलो भएनन्

काठमाडौ,१५  जेठ । अन्तिम दिन भएको सहमति प्रयासमा मधेसी दलहरू बाधक बने । जातीय स्वायत्त प्रदेशको आºनो अडानमा उनीहरू अलिकति पनि लचिलो बन्न तयार भएनन् ।
मधेसी मोर्चा र बृहत् मधेसी मोर्चा दुवैका नेताहरू अलग–अलग बैठक बसेका थिए । स्वायत्त मधेस प्रदेशसहितको संविधान नआउने भए राजीनामा गर्ने भन्दै केही सभासद्ले संयुक्त राजीनामाका लागि हस्ताक्षरसमेत चलाएका थिए । हस्ताक्षर संकलन आइतबार साँझसम्म चल्यो ।
आइतबार बिहान बसेको मधेसी मोर्चाको बैठकले संविधान निर्माणमा स्वायत्त मधेस प्रदेश तथा पहिचान र सामथ्र्यका आधारमा प्रदेशको बाँडफाँडको मुद्दामा अडिग रहने निर्णय गरेको थियो । बैठकपछि मधेसी नेताहरूले राज्य पुन:संरचना आयोगका सदस्य सुरेन्द्र महतो, पूर्वराजदूत विजयकान्त लालकर्ण, मधेसविद् तुलानारायण साहसँग पनि छलफल गरेको स्रोतले बतायो ।
त्यसपछि मधेसी नेताहरू सभामुख सुवास नेम्वाङलाई भेट्न पुगे । नेम्वाङसँगको छलफलमा उनीहरूले आºनो अडानबाट पछि नहट्ने जानकारी गराएका थिए । यसैगरी, बृहत् मधेसी मोर्चाका उपेन्द्र यादव, शरत्सिंह भण्डारी, सरिता गिरीलगायत नेताले सभामुख नेम्वाङलाई भेटेका थिए ।
आइतबार साँझ लोकतान्त्रिक फोरमको संसदीय दलको कार्यालय सिंहदरबारमा केही मधेसी सभासद्ले संयुक्त राजीनामाका लागि हस्ताक्षर संकलन गरेका हुन् । त्यति नै बेला संविधानसभा भवन परिसरभित्र केही मधेसी सभासद्ले मधेसका मुद्दा कार्यान्वयन गर्न दबाब दिँदै नाराबाजी गरेका थिए । हृदयेश त्रिपाठी, बृजेश गुप्ता, वकिल मुसलमान, मृगेन्द्र सिंह, कलावती पासवान, रामजनम चौधरी, वृजेश गुप्ता, दानबहादुर चौधरी, गोविन्द चौधरीलगायत सभासद्ले हस्ताक्षर गरेका छन् ।
‘स्वायत्त मधेसको मुद्दा नयाँ संविधानमा आउने स्थिति नदेखिएपछि हामीले हस्ताक्षर संकलन सुरु गरेका थियाँै । तर, हस्ताक्षर बुझाउने स्थिति नै रहेन,’ आइतबार राति सौर्यसँग लोकतान्त्रिक फोरमका नेता रामेश्वर राय यादवले भने, ‘हामी हाम्रो मुद्दाबाट एक इन्च पनि पछि हट्ने अवस्थामा छैनौँ ।’
आइतबार बिहान लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत माओवादीका नेताबीच छलफल भएको थियो । एकल जातीय पहिचानका आधारमा प्रदेशको बाँडफाँड गर्ने अडानमा दुवैतर्फका नेता अडिग थिए । यसैगरी, एमाओवादी अध्यक्ष प्रचण्डले उपेन्द्र यादवसँग छलफल गरेका थिए । माओवादीसँग छलफल गर्न यादव प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । यादवसँगको छलफलमा पनि कुनै सहमति हुन सकेन ।

प्रतिक्रिया