दिउँसो शान्तिपूर्ण, साँझ झडप


काठमाडौं, १५  जेठ । नयाँबानेश्वरस्थित संविधानसभा भवनआसपासमा विभिन्न समुदायको धर्ना कार्यक्रम दिनभर शान्तिपूर्ण रहे पनि साँझ भने झडपमा बदलिएको छ । जातीय पहिचानसहितको राज्यको विरोधमा उत्रिएका ब्राह्मण–क्षेत्री समाजका कार्यकर्ता र प्रहरीबीच साँझ संविधानसभा भवनको ३ नम्बर गेटमा झडप भएको हो । झडपमा डिएसपी सिद्धिविक्रम शाह, प्रहरी जवान महेन्द्र निधिसहित तीनजना घाइते भएका छन् ।
आक्रोशित अवस्थामा रहेका प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । बीचमा रहेको काँडेतारसमेत पार गर्दै प्रदर्शनकारी गेटतर्फ अघि बढेपछि लाठीचार्ज गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाराबाजी गर्दै गेटतर्फ अघि बढेका उनीहरूले निषेधित क्षेत्र लेखेको ब्यानर च्याते र काँडेतार भत्काए । पटकपटक संयमित हुन आग्रह गर्दा पनि उनीहरूले अटेर गरेपछि स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज गरिएको महानगरीय प्रहरीपरिसर काठमाडौंका डिएसपी आभूषण तिमल्सिनाले बताए ।
डिएसपी तिमल्सिनाका अनुसार प्रदर्शनकारीले हातेसाङ्लो बनाई बसेका प्रहरीलाई समेत उछिन्न थालेपछि अपरेसन कडा पारिएको थियो । भागदौडकै क्रममा पनि उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दा डिएसपी शाहको मुखमा ढुंगाले लागेको थियो । चोटका कारण उनी भुइँमा पछारिएका थिए । उनलाई उपचारका लागि महाराजगन्जस्थित प्रहरी अस्पताल लगिएको डिएसपी तिमल्सिनाले बताए । स्थिति अनियन्त्रित बनेपछि प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
दिनभर स्थिति सामान्य
बिहानैदेखि जातीय पहिचानसहितको राज्यको पक्ष र विपक्षमा नाराजुलुस भए पनि दिनभर स्थिति सामान्य रहयो । व्यापक रूपमा प्रहरी परिचालन र प्रदर्शनकारी संयमित भएका कारण दिउँसो झडपको अवस्था नआएको प्रहरी प्रवक्ता विनोद सिंहले जानकारी दिए ।
झडपको सम्भावनालाई विश्लेषण गर्दै प्रहरीले बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरेको थियो । बानेश्वरतर्फ जाने थापाथली चोक, हुनमानस्थान चोक, पुरानो बानेश्वर चोक, तीनकुने र शंखमूलआसपासका क्षेत्रदेखि नै यातायात आवागमनमा प्रहरीले रोक लगाएको थियो । फरकफरक माग राख्दै धर्नामा उत्रिएका प्रदर्शनकारीलाई हातेसाङ्लो बनाई प्रहरीले अलगअलग स्थानमा राखेको थियो ।
सम्भावित जोखिमलाई टार्न प्रहरीले सुरक्षाका तीनवटा घेरा बनाएको थियो । प्रवक्ता सिंहले संविधानसभा भवनभित्र एउटा, बाहिर अर्को र त्यसभन्दा बाहिर अर्को गरी जम्मा तीन घेरामा सुरक्षाकर्मी खटिएको जानकारी दिए । उनका अनुसार सादा पोसाकमा पनि तीन घेरामै प्रहरी परिचालित थिए ।
उनका अनुसार संविधानसभा भवन सुरक्षाका लागि एक हजार दुई सय ४८ प्रहरी परिचालन गरिएको थियो । उपत्यकाका विभिन्न क्षेत्रमा पाँच हजार ६ सय प्रहरी खटिएका छन् । त्यस्तै, संविधानसभा भवनलाई केन्द्र बनाई सात सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालित रहेको सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए ।

५ बजेपछि मदिरा निषेध
संविधानसभाको अन्तिम दिन राजधानीमा मदिराजन्य पदार्थ बिक्रीवितरणमा पनि रोक लगाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आइतबार बेलुकी ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म मदिरा बिक्रीवितरणमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिले मदिराका कारण सुरक्षामा असर पर्ने विश्लेषण गरेपछि प्रशासनले ५ बजेदेखि मदिरा बिक्रीवितरणमा रोक लगाएको हो । सुरक्षा व्यवस्था कडा पार्ने क्रममा पछिल्लोपटक मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय भएको महानगरीय प्रहरीपरिसरका प्रमुख जयबहादुर चन्दले जानकारी दिए । प्रशासनको निर्णयअनुसार सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट तथा पसलले मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न पाउनेछैन ।

कतै नाचगान कतै पूजापाठ

काठमाडौं : प्रमुख दलहरू नयाँ संविधानका लागि सहमतिको अन्तिम प्रयासमा जुटेका बेला आइतबार संविधानसभा भवनबाहिरको वातावरण भने हेर्नलायक थियो । नयाँ संविधानमा आ–आºना माग सुनिश्चित गराउनका लागि दबाबस्वरूप धर्नामा बसेका विभिन्न समुदाय कतै नाचगानमा त कतै पूजापाठमा व्यस्त थिए ।
संविधानसभा भवन प्रवेश गर्ने सबै नाकामा बिहानैदेखि प्रहरी तैनाथ थिए । सर्वसाधारणलाई बाटोको एक छेउमा मात्र हिँड्न दिइएको थियो । प्रहरीले रोकेकै ठाउँअगाडि दिनभर धर्ना, जुलुस, भाषण र नाचगान चलिरह्यो । संविधानसभा भवन परिसरदेखि पाँच सय मिटर आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
एभरेस्ट होटलअगाडि आदिवासी जनजातिअन्तर्गतका शेर्पा, गुरुङ समुदायले धर्ना दिँदै नाचगान गरेका थिए भने उत्तर नाकामा बाहुन–क्षत्री समुदायले धर्ना दिएका थिए । यसैगरी, मीनभवनतर्फ ट्रलीबस कार्यालयअगाडि आदिवासी जनजातिकै तामाङ, राई, लिम्बूलगायतले धर्ना दिएका थिए । शंखमूलतर्फको नाकामा थारू, आदिवासी जनजाति महिला महासंघ अनि अल्पसंख्यक समुदायले धर्ना दिएका थिए ।
पूर्वी र पश्चिमी नाकामा धर्नासहितको नाचगान कार्यक्रममा आदिवासी जनजातिले जातीय पहिचानसहितको संघीयता माग गरेका थिए । उनीहरूले केही दिनअघि मात्रै सरकारसँग भएको नौबँुदे सहमति कार्यान्वयनका लागि दबाब दिएका थिए । उत्तरतर्फको नाकामा भने बाहुन–क्षत्रीका कार्यकर्ताले जातीय राज्यको विरोधमा नाराबाजी गरेका थिए । उनीहरूले राष्ट्रिय झन्डा बोकेर राष्ट्रिय गीत पनि गाइरहेका थिए । त्यसैगरी, हिन्दूवादीले सनातन हिन्दू राज्यको माग गर्दै सत्याग्रह गरेका थिए । उनीहरूले नेताहरूको बुद्धि शुद्ध होस् भन्दै पूजापाठसमेत गरेका थिए ।
संघीयता पक्षधर र संघीयताविरोधी पक्षबीच झडप नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको थियो । प्रहरी सतर्कताका कारण एकअर्का समुदायबीच झडप भने हुन पाएन ।
जातीय पहिचानसहितको संघीयता हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका जनजाति कार्यकर्ताले आºनो जातीय र सांस्कृतिक पहिचान झल्कनेगरी नाचगान गरेका थिए । उनीहरूले जातीय पहिचानसहितको राज्य उल्लेख भएको नयाँ संविधानको माग गर्दै नाराबाजी गरेका थिए । त्यहीबेला संविधानसभा भवन परिसरभित्र भने विभिन्न दलका सभासद्ले बाहिरको झल्को दिने गरी संविधानसभा बैठक सुचारु गर्न माग गर्दै नाराबाजी गरेका थिए । (सौस)

प्रतिक्रिया