कांग्रेस पार्टी कार्यालयमा आगजनी

काठमाडौं, १४ जेठ । मधेसी जनअधिकार फोरमका कार्यकताले सर्लाहीस्थित पार्टी कार्यालयमा आगजनी गरेर क्षति पुराएको भन्दै नेपाली कांग्रेसले घटनाको भत्सना गरेको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर जिल्ला कार्यसमितिको कार्यालयमा फोरमका कार्यकर्ताहरुले आगोलगाएर क्षति पुराएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । फोरमका कार्यकर्ताले अपरान्ह ४ बजे आगो लगाइदिएको कांग्रेसले जनाएको छ ।
‘संयमित र मर्यादित रुपले आफ्ना मांगहरु राख्न पाउने नागरिकको अधिकार हुँदाहुँदै पनि राजनीतिक दलको कार्यालयलाई लक्षित गरी भौतिक सम्पत्ति नष्ट गर्नु अत्यन्त गम्भीर र दुःखदायी घटना हो,’ विज्ञप्तीमा भनिएको छ, ‘संविधान निर्माणको अन्तिम घडीमा मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुबाट भएको यस्तो अशोभनिय र घृणित कार्यको कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’
जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत गर्न र आफ्ना कार्यकर्तालाई संयमित र मर्यादित बनाउन फोरमलाई कांग्रेसले आग्रह गरेको छ । उसले पार्टी कार्यालयमा आगजनी गर्ने व्यक्तिहरुको पहिचान गरी कडा कार्वाही गर्न र शान्ति सुरक्षाको माग गरेको छ ।

प्रतिक्रिया