गार्डियोलाको बिदाइ खेल, बार्सालाई कोपा डेल रे उपाधि


म्याड्रिड, १४  जेठ । सिजनको अन्तिम खेलमा शुक्रबार राति एथलेटिको बिल्बाओलाई ३–० ले पराजित गरी बार्सिलोनाले स्पेनिस कोपा डेल रे उपाधि जित्दै प्रशिक्षक पिप गार्डियोलालाई सफल र सुखद् बिदाइ गर्‍यो ।
बार्सिलोनामा चार वर्षको कार्यकालमा उक्त क्लबका लागि सबैभन्दा सफल प्रशिक्षक साबित भएका गार्डियोलाले आफ्नो अन्तिम खेलमा जितको नतिजा दिंदै बार्सिलोनालाई आफ्नो प्रशिक्षणमा १४आंै उपाधि दिलाए । पेड्रो रोड्रिगेजले दुई र लियानेल मेसीले एक गोल गरी गार्डियोलाको बिदाइ खेललाई स्मरणीय बनाएका थिए । रोड्रिगेजले तेस्रो र २५आंै मिनेटमा गोल गरे भने २०आंै मिनेटमा गोल गरेका मेसीले व्यक्तिगत गोल संख्यालाई ७३ पुुर्‍याएर जारी सिजनलाई टुंग्याए । बार्सिलोनाले यस सिजनका सम्पूर्ण खेल खेलिसकेको छ । सिजनको अन्तिम खेलमा बार्सिलोनाले गार्डियोलाको प्रशिक्षणमा पछिल्ला चार वर्षमा गरेको प्रदर्शन ‘विशेषता’ दोहोर्‍यायो– छिटोछरितो प्रदर्शन (क्विक टच पासिङ), प्रभावशाली तालमेल र सफल फिनिसिङ ।
२६आंै पटक कोपा डेल रे जितेर बार्सिलोनाले जारी सिजनमा युरोपियन च्याम्पियन्स लिग र स्पेनिस लिग उपाधि रक्षा गर्न नसके पनि चौथो उपाधि जितेर आफ्नो प्रभावलाई कमजोर हुन दिएन ।
‘यो सिजन हाम्रा लागि निकै राम्रो रहयो,’ बार्सिलोनाबाट बिदा हुनुअघि गार्डियोलाले अन्तिम सिजनको समीक्षा गरे, ‘हामीले यस सिजनमा चार उपाधि जित्यौं र अझ कोपा डेल रेको उपाधिले बार्सिलोनाका लागि छुट्टै महत्त्व राख्यो ।’
बार्सिलोनाले यस सिजनमा फिफा क्लब विश्वकप, युरोपियन सुपरकप र स्पेनिस सुपरकप पनि जितेको थियो । गार्डियोलाको प्रशिक्षणमा बार्सिलोनाले दुईपटक युरोपियन च्याम्पियन्स लिग र तीनपटक स्पेनिस लिग उपाधि जितेको थियो । यसक्रममा बार्सिलोना १९ वटा प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलबाट बाहिरिएपछि ४१ वर्षीय गार्डियोलाले बार्सिलोनासँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेका थिए । बार्सिलोना र गार्डियोलाबीचको करार अवधि यसै सिजनसम्म थियो । ‘मलाई यस्तो महसुस भइरहेको छ, म नरहे पनि मैले क्लबका लागि केही राम्रा कुरा छाडेको छु । मैले के आशा राखेको छु भने यसलाई म पछिकाले पनि निरन्तरता दिउन् ।’ भविष्यमा नयाँ क्लब जान सक्ने संकेत दिंदै गार्डियोलाले भने, ‘अब म आराम गर्छु र भविष्यमा नयाँ चुनौती सामना गर्न आफूलाई तयार पार्छु ।’
खेलको सुरुआतमा खचाखच भरिएको रंगशालामा करिब ५५ हजार दर्शकले एक हँुदै स्पेनिस राष्ट्रगानमा रम्दै खेलको मजा लिएका थिए । यस्तै स्थिति तीन वर्षअघि भ्यालेन्सियामा भएको फाइनलमा देखिएको थियो जसमा बार्सिलोना र एथलेटिको म्याड्रिड भिडेका थिए । उक्त खेलमा ४–१ ले विजयी भएको बार्सिलोनाले गार्डियोलाको प्रशिक्षणमा पहिलो उपाधि जितेको थियो ।
बायर्न म्युनिखका गेरार्ड मुलरले सन् १९७२/७३ को सिजनमा ६७ गोल गरेर बनाएको युरोपियन कीर्तिमान यसै सिजनमा मेसीले तोडेका थिए । त्यस्तै अमेरिकी लिग फुटबलमा १९२४–२५ को सिजनमा बेथलेहेम स्टिलका आर्किए स्टार्कले ७० गोल गरी बनाएको विश्व कीर्तिमान पनि मेसीले यसै सिजनमा तोडे । यसै सिजनमा स्पेनिस लिगमा ५० गोल गरी मेसीले नयाँ घरेलु लिग गोल कीर्तिमान बनाएका थिए । यस सिजनमा उनले युरोपियन च्याम्पियन्स लिगमा कीर्तिमानी १४ गोल, स्पेनिस सुपरकप र कोपा डेल रेमा तीन/तीन गोल, क्लब विश्वकपमा दुई गोल र युरोपियन सुपरकपमा एक गोल गरेका थिए । ‘मेसी, म बार्सिलोनामा आउनुभन्दा पहिलेको दाँजोमा अहिले धेरै प्रतिस्पर्धी भएका छन् । हरेक फाइनलमा उनी नै मुख्य खेलाडी बन्ने गरेका छन्,’ २४ वर्षीय अर्जेन्टिनी मेसीबारे गार्डियोलाको बार्सिलोना छाड्दाछाड्दैको प्रतिक्रिया थियो, ‘विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई प्रशिक्षण गर्न पाउनु मेरो सौभाग्य रहयो ।’
स्पेनिस कोपा डेल रे जितसँगै बार्सिलोनाले आगामी सिजनअन्तर्गत अगस्टमा हुने स्पेनिस सुपरकपको उपाधिका लागि रियल म्याड्रिडविरुद्ध भिडन्त तय गर्‍यो । लिगविजेता र कोपा डेल रे विजेता स्पेनिस सुपरकपको उपाधिका लागि भिड्ने गर्छन् । यस सिजनमा बार्सिलोनाको लगातार तीन वर्षको उपाधि यात्रा टुंग्याएर रियल स्पेनिस लिग च्याम्पियन भएको थियो । एथलेटिको बिल्बाओ सन् १९८४ यता पहिलो उपाधि जित्ने प्रयासमा छ । यसै सिजन युरोपा लिगको फाइनलमा पुगे पनि एथलेटिको स्पेनकै अर्को क्लब एटलेटिको म्याड्रिडविरुद्ध उपाधि भिडन्तमा पराजित भएको थियो ।

प्रतिक्रिया