सानै उमेरमा जागिरको पिर

जम्मा १० वर्षका भए कौशल अन्सारी । पढ्ने–खेल्ने उमेर हो उनको । तर, अहिल्यैदेखि जागिर नपाएको चिन्तामा पिरोलिनुपरेको छ । चितवन प्रहरीले केही दिनअघि बुटिक कारखानामा छापा मार्‍यो । त्यहाँका ३२ जना बालश्रमिकलाई उद्धार गर्‍यो । तर, यसबाट उनीहरूको उद्धार भयो वा बिजोग खुट्याउनै गाह्रो छ, अवस्था देख्दा । तिनैमध्येका हुन् कौशल । तर, उनी खुसी छैनन्, बेरोजगार हुनुपरेको चिन्ताले पिरोलिएका छन् । आमाको काखमा रमाउँदै खेल्नु, पढ्नुपर्ने यी बालक दिनको १८ घन्टासम्म साडीमा बुट्टा भर्थे । महिनाको तीन हजार रुपियाँ सर्लाहीस्थित घर पुर्‍याउनुपर्ने दायित्व थियो यो सानो काँधमा । प्रहरी कार्यालयको हातामा चीलको छायामा परेको चल्लाझैँ भयभीत अवस्थामा देखिन्थे उनी । बाल्यकालमै श्रम गर्नुपर्ने उनको बाध्यता यहाँ अपराध साबित हुँदै थियो ।
बुट्टा भर्दा सियोले छियाछिया पारेर हिलोले खाएका अदुवाजस्ता भएका हातका औँला चिउँडोमुनि राखेर निहुरिएका छन् उनी । हत्केला वर्षौंसम्म काम गरेको प्रौढ व्यक्तिकै जस्तो छिप्पिएको देखिन्छ । देब्रे हातको बुढी औँलाको टुप्पो चिरिएको छ । आँखा तेजिला भए पनि रोएर थाकेझैँ कोष नीलो देखिन्छ । पैताला बर्खाले खियाएका बाख्राका खुरजस्तै छन्, बाक्ला चप्पलमाथि ।
‘आमालाई सपनामा देखेको थिएँ’, प्रहरीले ‘उद्धार’ गरेर लैजानुअघि साथी सम्नी साहसँग उनले भनेका थिए रे † दिनभरि पेट दुख्दादुख्दै काम गरिरहेका उनले राति आमाले आफ्×नो कपाल मुसारेको सपना देखेछन् । नारायणगढको बेलचोकस्थित रहिम अन्सारीको बुटिक कारखानामा दुई वर्षअघि बुट्टा भर्न आएका उनी । सर्लाहीको लक्ष्मीपुरस्थित घरबाट उनै अन्सारीले ल्याएका । नुहाउन नभ्याएर लिखा परेको कपाल खौरिएपछि पूरै मुडुलो छन् कौशल । धेरैबेरपछि बोले, ‘बिहान आठदेखि राति १० बजेसम्म बुट्टा भर्छु ।’ ६ जनाको परिवारका साना सदस्य उनी पैसा कमाउन परिवारकै सहमतिमा आएका रहेछन् ।
मिस्त्री काम गरेर परिवारको बोझ धानिरहेका बाबु ओलाइत अन्सारीलाई सघाउन निरन्तर औँला घोचिरहन्थे यी साना छोरा । आफूलाई आवश्यक पर्दा दुई–तीन सय पाउने र बाँकी पैसा साहुले नै आमाबुबालाई पठाइदिने गरेको उनले सुनाए । तलबचाहिँ महिनाको तीन हजार पाँच सय रुपियाँ ।
‘ओइ काम गर्ने बेला भयो †’ बिहान ६ बजे निद्रा नखुल्दै साहु उठाउन आउँछन् । आफ्नी आमालाई भए बालसुलभ शैलीमा घुक्र्याइदिँदा हुन् । तर, यो परिश्रमको कठोर बाध्यताभित्र बालसुलभ ‘मीठो हठ’ को के अर्थ र ? कौशलका साथी १२ वर्षीय सम्नी १५ घन्टा काममा खटिएको सुनाउँछन् । साडीमा हेर्दाहेर्दा आँखै टट्टाउँछन् । टाउको पनि उत्तिकै दुख्छ । उनले भने, ‘साहुले औषधिको गोली दिन्छ, खान्छु अनि काम गर्न थालिहाल्छु । ’
बोर्डिङ पढ्दै गरेका आठ वर्षीय अरविन्दकुमार यादव पनि यही परिश्रमको कारखानामा आइपुगे । निस्फिक्री डुलिहिँड्ने, साथीसँग रमाइलो गर्ने बाल्यकालीन क्रियाकलाप उनले यहाँको ढोकाबाट छिर्नेबित्तिकै बिर्सनुपरेको छ । दिनभर एउटा मात्रै झ्याल भएको कोठामा साथीहरूले जस्तै निरन्तर राम्रा बुट्टा भर्छन् । मजदुरी गरेर परिवार धान्ने बुबालाई घाँटीको समस्याले अशक्त बनाएपछि १२ वर्षका दाजुसागै उनी पनि यहाँ आएका रहेछन् । ‘बोर्डिङले ढेवा मागिरहेको थियो, पैसा नभएपछि परीक्षा छाडेर कमाउन आयो,’ मधेसी लबजमा आफ्ना पीडा ओकले उनले, ‘पैसा नभएपछि माईको मायाले मात्र के गर्नु ।’ उनको तलबचाहिँ दुई हजार पाँच सय रुपियाँ रहेछ ।
चितवनका विभिन्न बुटिक कारखानामा निकृष्ट बालश्रमका यस्ता उदाहरण प्रशस्तै देखिने बताउँछिन् बालबालिका क्षेत्रमा कार्यरत शान्ति अधिकारी । भनिन्, ‘यिनीहरूलाई काम गरेकै कोठामा सुताउने र खानबस्नको राम्रो व्यवस्था नरहेको देखिन्छ ।’ अधिकांश बालक तराई क्षेत्रका विपन्न परिवारकै छन् । राम्रोसँग जीवनसमेत नबुझिसकेको उमेरमा परिवारको ‘जिम्मेवार’ छोरा बनेर काममा खटिनु उनीहरूको बाध्यता हो । गरिबीमा पिल्सिएको परिवारसँग पनि सायद अरू विकल्प छैन । प्रहरीले कौशलसहित ३२ जनालाई उद्धार गर्‍यो । यति साना हातहरूलाई कठोर परिश्रममा रगडिरहनु पक्कै पनि अपराध हो । तर, प्रश्न बाँकी नै छ– यहाँबाट गइसकेपछिचाहिँ यी बालकको भविष्य के होला ?

प्रतिक्रिया