शनिबार पढाएर आइतबार बिदा

काठमाडौ, १४ वेठ । काठमाडौँ उपत्यकाका निजी विद्यालय शनिबार पनि सञ्चालन भएका छन् । संविधानका विषयलाई लिएर १४ जेठमा परिस्थिति जटिल हुने आशंकामा अधिकांश निजी विद्यालय शनिबार पढाइ सञ्चालन गरेर आइतबार बन्द गरिएको हो ।
निजी तथा आवासी विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौले औपचारिक निर्णय नै गरेर आइतबार विद्यालय बन्द गर्ने घोषणा गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष डा. बाबुराम पोखरेलले जिल्लालाई अधिकार प्रत्यायोजन गरेकाले आफैँले बन्द गर्ने वा खोल्ने निर्णय गरिएको बताए ।
‘आइतबारको स्थिति के हुने हो थाहा छैन, त्यसैले काठमाडौँं प्याब्सनले एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो,’ अध्यक्ष पोखरेलले भने, ‘जिल्लाहरूले परिस्थिति हेरेर विद्यालय चलाउँछन् ।’
आइतबार बन्द गर्नका लागि उपत्यकाका केही विद्यालयले शनिबार कक्षा सञ्चालन गरेका थिए । ललितपुरको लिटिल एन्जेल्स, पाठशाला, शुभतारालगायतले शनिबार पढाइ गरेका हुन् ।
ललितपुर प्याब्सनको पनि आइतबार विद्यालय सञ्चालनका विषयमा छलफल गर्न शनिबार बैठक बसेको थियो । बैठकले विद्यालयले स्वविवेक प्रयोग गरेर बन्द वा सञ्चालन गर्ने निर्णय गरेको छ । ललितपुर प्याब्सनका उपाध्यक्ष शिव कार्कीका अनुसार ललितपुरका अधिकांश विद्यालय आइतबार बन्द हुँदैछन् । ‘आइतबार विद्यालय बन्द गर्नका लागि शनिबार पनि पढाइ भएको छ,’ उपाध्यक्ष कार्कीले भने, ‘आइतबार प्राय: विद्यालय बन्द हुन्छन् ।’ काठमाडौमा मात्र एक हजारभन्दा बढी निजी विद्यालय छन् ।
काठमाडौंका सामुदायिक विद्यालयसमेत बन्द भएका छन् । काठमाडौंका सामुदायिक विद्यालयका प्रधानाध्यापकले क्षतिपूर्तिस्वरूप वर्षे बिदामा पढाउने भनेर विद्यालय बन्द गरेका हुन् ।
लगातार बन्दका कारण शिक्षकहरू विद्यालय आउन छाडेपछि काठमाडौंँका सरकारी विद्यालय बन्द भएका हुन् । विद्यालयका प्रधानाध्यापकको भेलाले परिस्थितिअनुकूल नभएको भन्दै आइतबारदेखि १६ जेठसम्म सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । युनियनका अध्यक्ष तथा टंगाल उच्च माविका प्रअ अधिकारीले विद्यालय खोलिए पनि विद्यार्थी मात्र आउने तर शिक्षक आउन नसकेका कारण १६ जेठसम्म बन्द गर्ने निर्णय गरिएको बताए । असारमा हुने बर्खे बिदामा १५ दिन पढाउने निर्णय भएको छ । केही विद्यालय २१ जेठसम्म बन्द गरिएका छन् ।

प्रतिक्रिया