सुकुम्बासीद्वारा घर–टहरा हटाउन अवरोध

सुर्खेत, १३ जेठ । दुई दर्जन प्रहरीसहित सुकुम्बासीका घर–टहरा हटाउन गएका वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी एउटा टहरा हटाइनसक्दै पछाडि हटे । प्रहरीका साथ गएको नगरपालिकाको प्रशासन तथा योजना अनुगमन अधिकृत प्रकाश पौडेल नेतृत्वको टोली शुक्रबार वीरेन्द्रनगर–९ को मिलडाँडास्थित सुकुम्बासी बस्ती नहटाई फर्किएको हो ।

एउटा टहरो भत्काइनसक्दै हातमा लाठी र ढुंगा लिएर सुकुम्बासीको समूह अवरोधका लागि आएपछि नगरपालिकाका कर्मचारी र प्रहरी त्यत्तिकै फर्किएका थिए । राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्षसहित ३५ जनाभन्दा बढीको संख्यामा गएका सुकुम्बासीले टहरा भत्काउन अवरोध गरेका थिए । विकल्प नदिएरै जबर्जस्ती हटाउन लागेको भन्दै आक्रोशित उनीहरूले मर्नुपरे पनि टहरा भत्काउन नदिने अडान राखेपछि नगरपालिका र प्रहरी हच्किएका थिए ।
सुकुम्बासी ढुंगामुढा गर्दै आएपछि झडप हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले थप प्रहरी खटाएको थियो । तर, सुकुम्बासीले ‘प्रहरीको गोली खाएर मर्न पनि तयार छौँ’ भन्दै छाती थापेपछि पाँच दिनभित्र टहरा हटाउन निर्देशन दिई टोली फर्किएको थियो । नगरपालिकाले १६ जेठसम्म टहरा नहटाए बल प्रयोग गरेर भए पनि हटाइने बताएको छ । योजना अनुगमन तथा प्रशासन अधिकृत पौडेलले प्रशासन, जिल्ला प्रहरी र नगरपालिकाको छलफलपछि पाँच दिनभित्र आफैँ हटाउन निर्देशन दिइएको बताए । मञ्चका सुर्खेत अध्यक्ष पहरसिंह पहराईले विकल्प नभएसम्म सुकुम्बासी हटाउन नहुने बताए । ‘वनमा बस्दा वनले उठाउने, यता बस्दा नगरपालिकाले, अनि सुकुम्बासी कहाँ गएर बस्ने ?’ पहराईले भने । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त जग्गामा अस्थायी बसपार्क निर्माण गर्न थालिएपछि सुकुम्बासीका टहरा हटाउन लागिएको हो ।

प्रतिक्रिया