क्लब सम्झौता : कसैले गरे, कसैको बाँकी

काठमाडौं, १२ जेठ । राष्ट्रिय टोलीका बायाँरक्षक अञ्जन केसी इन्जरीका कारण लामो समयदेखि मैदानबाहिर छन् । अञ्जन फुटबलको मैदानबाट टाढा रहँदा एन्फा एकडेमीकै पहिलो सत्रका विजय गुरुङ पनि खासै जम्न सकेनन् ।
लामो समय थ्रीस्टार क्लब र केही समय मनाङमस्र्याङदी क्लबमा बिताएका बायाँ फ्लान्कमा खेल्ने यो स्वर्णीम जोडी फेरि थ्रीस्टार क्लबमा उत्रन सक्ने सम्भावना प्रबल भएको छ । इन्जरीको कारण लामो समय मैदानबाहिर रहनुपरेपछि अञ्जनले खेलाडीकै रूपमा भविष्य निश्चित हुन्छ भन्ने सोचेनन् । यसैकारण ‘सी’ लाइसेन्स प्रशिक्षक कार्स पनि पूरा गरिसके ।
यस सत्रका लागि थ्रीस्टार क्लबमा आबद्ध भइसकेका अञ्जनले भने, ‘सकें भने खेल्छु होला ।’ उनले नै भने, ‘विजय पनि थ्रीस्टारमै रहनेछ ।’ यसभन्दा अघि जगजित श्रेष्ठ थ्रीस्टार क्लबमा आबद्ध भइसकेका छन् ।
सहिद स्मारक लिग र राष्ट्रिय लिग कहिले हुने भन्ने निश्चत नभए पनि यस वर्ष केही क्लबले भिन्न रणनीति लिए । महँगो क्लबका रूपमा परिचित हिमालयन शेर्पा क्लब र मनाङमस्र्याङदी क्लबले आफूलाई त्यसभन्दा टाढा राख्दा परिचत धेरै स्टार थ्रीस्टार क्लबमा पुगे । थ्रीस्टार नै महँगो बनेपछि राष्ट्रिय टोलीका प्रभावकारी खेलाडी जगजित र सन्दीप राई थ्रीस्टारमा आबद्ध भइसकेका छन् ।
हालसम्म सम्झौता नगरेका निराजन खड्का, सागर थापा र दीपक भुसाल तीनैजनाबारे कौतुहल जागिरहेको समयमा यी स्टारले एउटै क्लबमा आबद्ध हुने सोचाइ राखेका छन् । ‘हामी तीनैजना एउटै टोलीमा रहे हाम्रो टोली पक्कै पनि राम्रो हुनेछ ।’ संकटा क्लबसँगको वार्ता अघि बढे पनि केही निश्चित भइनसकेको सागर बताउँछन् ।
एउटा कुरामा भने सागर प्रष्ट छन् । ‘नेपालको हाइएस्ट पेड फुटबलर हुने चाहना भने हो,’ उनले भने । सागरले भनेझैं यी तीन खेलाडी एउटै टोलीमा रहे यो समन्वय महत्त्वपूर्ण हुने कुरामा शंका छैन । राष्ट्रिय टोलीका कप्तान सागर अन्तिम रक्षकमा उत्कृष्ट हुन सक्नेछन् । जुन, भूमिकामा सबैभन्दा राम्रा खेलाडी रोहित चन्द अहिले भारतीय लिगमा नै व्यस्त छन् । त्यसै भूमिकामा रहेका थ्रीस्टारका सन्दीप राई र सागर नै उत्कृष्ट अन्तिम रक्षकको रूपमा रहेका छन् । कलात्मक खेल खेल्ने मिडफिल्डर निराजन परिपक्व मानिन्छन् । दीपक दायाँरक्षकको रूपमा खेल्ने गर्छन् । यसअघि दीपक र निराजन मनाङमस्र्याङदीमा आबद्ध थिए भने सागर थापा राष्ट्रिय लिग उपविजेता हिमालयन शेर्पाको तर्फबाट खेलेका थिए ।
क्लब परिवर्तनकै कारणबारे उनले भने, ‘त्यस्तो केही होइन, नयाँ टिम, नयाँ समन्वय र नयाँ क्लबको अनुभव चाहेको मात्र हो । हिमालयनसँग अहिले पनि मेरो राम्रै सम्बन्ध छ ।’
यो नयाँ सम्झौतामा नयाँ किमिसले बाजी मार्ने टिम भने नेपाल आर्मी क्लब रहेको छ । एनआरटीका प्रतिभाशाली रक्षक जितेन्द्र कार्कीको उपस्थितिले आर्मी क्लबको रक्षापंक्ति राम्रो बनेको छ । थुप्रै खेलाडीको नयाँ सम्झौताको कुरा चल्दा पनि अग्रपंक्तिका उत्कृष्ट खेलाडी भरत खवास आसन्न एएफसी यु–२२ फुटबल प्रतियोगितापछि मात्र नयाँ सम्झौताको कुरा अघि बढाउने बताउँछन् ।

प्रतिक्रिया