दाहालले चित्त दुखाए, नेपालले ‘सरी’ भने


काठमाडौं, १२ जेठ । नयाँ संविधान जारी गर्ने अन्तिम म्याद  तीन दिन बाँकी रहेको अवस्थामा बिहीबार बसेको विवाद समाधान उपसमितिको बैठक संविधानभन्दा पनि व्यक्तिगत विवाद समाधानमा केन्द्रित भयो । उपसमितिका संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार गरेको भाषणप्रति चित्त दुखाएपछि बैठक दाहाल र नेपालबीच मन माझामाझमा केन्द्रित भएको हो ।
एमाले वरिष्ठ नेता नेपालले बुधबार रिपोटर्स क्लबले एभरेस्ट होटेलमा गरेको कार्यक्रममा अध्यक्ष दाहाल मुलुकलाई कलहमा फसाउने, अविश्वसनीय र षड्यन्त्रकारीका रूपमा देखापरेको बताएका थिए । त्यसबारे बिहीबार उपसमिति बैठकमा दाहालले असन्तुष्टि जनाएका हुन् । नेपालले बुधबार दाहाल स्वार्थका लागि जोसुकैसँग साँठगाँठ गर्ने र कलहमा फसाउने रूपमा देखापरेको  बताएका थिए । दाहालले भने बैठकमा आफूलाई बुधबार वरिष्ठ नेता नेपालले चोरडाँकाकै रूपमा प्रस्तुत गरेको भन्दै नेपालसँग गुनासो गरेका थिए ।
‘संविधान निर्माणको अन्तिम समयमा मिलेर जानुपर्नेमा मलाई त चोरडाँकासम्म भन्नुभएछ, यसलाई कसरी सुमधुर मित्रता भनौँ, मेरो चित्त दुख्यो,’ दाहालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्तो बेला व्यक्तिगत लाञ्छनामा उत्रेपछि कसरी मिलेर जान सकिन्छ ?’
दाहालको धारणा सुनेपछि नेपालले आफूले चोरडाँका नभनेको बरु एउटा सम्झौता गरेर अर्कै भूमिका निर्वाह गर्ने काम गर्नुभयो भनेर राजनीतिक रूपले आलोचना गरेको स्वीकार गरे । ‘एउटा सहमति गर्नुहुन्छ अर्कै भूमिका खेल्नुहुन्छ, विश्वासै गर्न नसकिने भयो भनेर राजनीतिक रूपमा भनेको थिएँ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चोरडाँका भनेको थिइनँ, मिडियाले राजनीतिक कुरालाई व्यक्तिगत रूपमा प्रस्तुत गरेका हुन सक्छन् ।’
‘संघीयताका विषयमा सहमति गर्नुभयो, आदिवासी जनजातिलाई अर्कै कुरा गरेर उराल्नुभयो, त्यसकारण संविधान जारी गर्न कठिनाइ भइरहेको छ, स्वार्थका लागि जोसुकैसँग साँठगाँठ नगरौँ र षड्यन्त्रमा नलागौँ भनेको हुँ,’ नेपालले भने, ‘त्ति नदुखाउनुस्, मैले भनेका ती कुराले तपाईंलाई चोट परेको छ भने माफी चाहन्छु ।’
बैठकपछि पनि नेपालले आफूले भनेको कुरालाई दाहालले व्यक्तिगत रूपमा बुझेको पत्रकारसँग बताए । ‘मेरो अभिव्यक्तिलाई लिएर प्रचण्डजीको चित्त दुखाइ रहेछ, चोर, डाँका, फटाहा भनेको भनेर उहाँले बुझ्नुभएछ,’ उनले भने, ‘मैले राजनीतिक हिसाबले भनेको थिएँ तर उहाँलाई मैले बढी भनेजस्तो लागेको भए म माफी चाहन्छु ।’
बुधबार नेपालले मुलुकमा रक्तपात भए पनि स्वार्थका लागि जस्तोसुकै जालझेल र षड्यन्त्र गर्ने माओवादी अध्यक्ष दाहालका कारण गतिरोध बढेको बताएका थिए । ‘प्रचण्डजस्तो जीवनसाथी रोजिएछ, खोइ के भन्नु † जसले जोसँग पनि स्वार्थका लागि साँठगाँठ गर्न सक्छन्, अहिले उनीबाट सबै पछुताइरहेका छन्,’ उनले भनेका थिए, ‘मुलुक चर्को द्वन्द्व र जातीय–क्षेत्रीय कलहमा फसेपछि पछुताउन बाँकी पनि पछुताउँछन् ।’ नेपालले ‘प्रचण्ड नेपालको इतिहासकै सबैभन्दा ठूला षड्यन्त्रकारी’का रूपमा देखिएको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया