साउनमा मायाज बार


काठमाडौं : ठूलो बजेटका चलचित्रहरू धमाधम असफल भएर घाटाको मारमा पिल्सिइरहँदा निर्देशक दिनेश डिसी आफ्नो चलचित्र मायाज बारको निर्माण लागत करोड नाघेको बताउन थालेका छन् । उनलाई यो रकम ‘बिग’ लाग्न थालेको छ र त्यही विषय समातेर चलचित्रको प्रचार गर्न थालेका छन् । भने, ‘निर्माता सुनील मानन्धरले यसमा एक करोड रुपियाँभन्दा बढी लगानी गरिसके, रिलिजको समयसम्म पुग्दा त अझै २० लाख थपिएला जस्तो छ ।’ आगामी सातादेखि चलचित्र प्रमोसनको तयारी सुरु गरिने पनि उनले बताए ।
उनले यस चलचित्रमा केही नयाँ कलाकारलाई पनि स्थान दिएका छन् । टेलिभिजन ट्यालेन्ट सो ‘खोजी प्रतिभा’ अन्तर्गत अभिनय विधाको पहिलो सिजनमा दोस्रो भएका गजिज विष्ट नायकका रूपमा डेब्यु गर्दै छन् । सोही कार्यक्रमको गायन विधाबाट छानिएकी दुर्गा परियारले चलचित्रको पाश्र्व गायनमा डेब्यु गरेकी छन् ।
चलचित्रमा राजेश हमाल, करिस्मा मानन्धर, निशा अधिकारी, नागेन्द्र रिजाल, बालदीप राई, सुन्दर श्रेष्ठ, आरपी भट्टराईलगायतको अभिनय छ । एनबी महर्जनको द्वन्द्व तथा सुरेश अधिकारीको संगीत रहेको चलचित्र आगामी साउन १९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको दिनेशले जानकारी गराए । लगानीका बारे दिनेशले बताएको रकम साँच्चैको हो वा उनको चलचित्र प्रचार गर्ने शैली मात्र, त्योचाहिँ चलचित्र हलमा आएपछि मात्रै थाहा हुनेछ । (सौस)

प्रतिक्रिया