छायामा परेको संघर्ष

आर्मीमा छिरेर ठूलो पदमा पुग्ने अनि राष्ट्रसेवा गरेर धेरैको सलामी खाने सोच्थे उनी कुनै बेला । तर, समय र परिस्थितिले कोरिदिएको बाटोबाट अगाडि बढ्दै जाँदा उनी राजनीतितिर पो आइपुगेछन् । राजनीतिका उतारचढावहरूमा झर्दै र चढ्दै गर्दा आज नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा छन् दीपक गिरी ।
बाह्र वर्षको उमेरदेखि कांग्रेससँग नजिकिन थालेका उनी त्यसपछि कहिल्यै यसबाट टाढिन सकेनछन् । हजुरबुबा ००७ सालको क्रान्तिका सेनानी भएकाले घरैभरि कांग्रेसका दस्ताबेज हुन्थे । ती दस्ताबेज पढ्दै जाँदा उनलाई प्रजातन्त्रबारे ज्ञान र रस दुवै लाग्दै गयो । फुपूका छोराहरू पनि कांग्रेसकै नेता भएकाले जता गए पनि त्यही माहोल थियो । भन्छन्, ‘त्यति बेला कांग्रेसलाई अराष्ट्रिय तत्त्व भनेको निकै सुनिन्थ्यो ।’ सोह्र वर्षको उमेरमा पुग्दा उनी पार्टीको क्रियाशील सदस्य भइसकेका थिए । जब पढाइबाट बिदामा घर जान्थे, हजुरबुबाले प्रजातन्त्रका बारेमा कुरा गर्दै मुलुकप्रति चिन्ता दर्साउँदा उनी ध्यान दिएर सुन्थे रे † भन्छन्, ‘घरको वातावरणले नै राजनीतिमा लाग्न प्रेरित गर्‍यो ।’
उमेर सानै थियो, पार्टी र राजनीतिबारे उतिसाह्रो बुझ्दैनथे । तैपनि पर्चा बोकेर गाउँगाउँ पुग्थे । त्यो पर्चामा के लेखिएको छ भन्नेचाहिँ पत्तै पाउँदैनथे । यस्तै पर्चा बोक्दै हिँडेका कारण बाह्र वर्षको उमेरमा पहिलोचोटि पक्राउ परी प्रहरी हिरासतमा रहनुपरेको उनले सुनाए । संघर्षको त्यो क्रम लम्बिँदै गयो । ०३६ सालमा बैंक लुट्ने प्रयास गरेको आरोपमा पञ्चायती सरकारले उनलाई मुद्दा लगायो । तत्कालीन अञ्चलाधीशको आदेशमा पक्राउ परे । ‘त्यो झुटो मुद्दामा ४८ घन्टा ठिंगुरामा बस्नुपर्‍यो, खाना खाने बेलामा मात्र खोलिदिन्थे,’ उनले सुनाए, ‘दाङमा रहँदा १९ वटा सार्वजनिक मुद्दा खेप्नुपरेको थियो ।’ राजनीति गरेबापत सात–आठपटक जेल जानुपरेको उनले सुनाए ।
नेविसंघको चौथो राष्ट्रिय महाधिवेशनका उनी संयोजक थिए । त्यो महाधिवेशन दाङमा गर्ने भनिएको थियो । तर, आफ्नै कारणले जनकपुरमा सार्नुपरेको त्यति बेलाको अवस्था सम्झँदा उनी दु:खी बन्छन्, ‘महाधिवेशनका लागि गाउँमा चामल संकलन गर्दै गर्दा प्रशासनले पक्राउ गरेर निकै यातना दियो, त्यो यातना आज पनि भुल्न सक्दिनँ ।’ उनी पक्राउ परेपछि तत्कालीन कांग्रेस नेता बिपीले ‘दाङमा गर्न सकिँदैन, जनकपुर जाऊँ’ भनेका रहेछन् । त्यति बेलाको यातना सम्झिए उनले, ‘सबैले देख्ने गरी कम्बल ओढाएर पिटे प्रहरीले, जसकारण एउटा हातमा लागेको गम्भीर चोटले आज पनि सताउँछ ।’
तर, पार्टी बहुदलीय व्यवस्थामा प्रवेश गरिसकेपछि त्यति बेला ती संघर्षका गाथाहरू धमिलिँदै गएको उनलाई लाग्छ । न त ती संघर्षका आधारमा व्यक्तिको मूल्यांकन गर्ने परिपाटी नै बस्यो । ‘गिरिजाबाबु (स्व. गिरिजाप्रसाद कोइराला) वरिपरि घुमेकै भरमा धेरैले फाइदा लिए, त्यस्तालाई हामी गिरिजाको हन्डी खाएको भनेर व्यंग्य गर्दै चित्त बुझाउँथ्यौँ,’ उनले सुनाए, ‘जो मान्छे विचारले नभई निजी स्वार्थले प्रेरित भएर आउँछ, उसले देश र पार्टीका लागि गर्ने भन्दा पनि आफ्नो स्वार्थ अनुकूलको दाउ खोजी हिँड्छ ।’ यसबारे जिम्मेवार नेताहरू सचेत हुनुपर्ने उनी सुनाउँछन् ।
हुन पनि उनका समकालीन मात्र होइन, पछि आएकाहरूले पनि मन्त्री बनेर झन्डावाल गाडीमा सयर गर्नुको स्वाद चाखिसके । यस हिसाबले आफ्नो जीवन नियाल्दा सन्तुष्ट छैनन् गिरी । उनी टियुमा महासचिव हुँदा विजय गच्छदार विराटनगरमा स्ववियु चुनाव लड्दै थिए रे । जेपी गुप्ता उनीभन्दा धेरैपछि नेविसघंको केन्द्रीय सदस्य भएका रे † शरत्सिंह भण्डारी पनि पिताका नामले उनीभन्दा धेरै पछि आएका रे † समकालीन पूर्णबहादुर खड्काले पदीय हिसाबले कत्रो छलाङ मारिसके तर उनी बल्ल केन्द्रीय सदस्य छन् । आफूलाई छलकपट नआउने बताउने दीपकलाई पार्टीभित्र हुने गुट–उपगुट र झगडाले झनै खिन्न बनाउँदो रहेछ । नेताहरूले कार्यकर्तालाई काखा र पाखा गरेको देख्दा दुख्छ रे उनको मन । भन्छन्, ‘योग्यता, क्षमता र त्यागले भन्दा पनि नेताको फेर समाएर वैतरणी तर्ने पद्धतिले इमानदार कार्यकर्तामा हीनताबोध बढेको छ ।’
इतिहासतिर फर्कंदा बिपी कोइराला र मदन भण्डारीलाई राष्ट्रवादी नेता देख्छन् उनी, जसलाई मनैदेखि सम्मान गर्छन् । उनीहरूको सिद्धान्त अहिलेका नेताले छाडेकाले देशको यो गति भयो भन्छन् । उनका लागि बिपी आस्थाको कुञ्ज हुन् । उनले स्मरण सुनाए, ‘स्ववियु चुनावमा टियुमा को लड्दै छ भनेर सान्दाजु (बिपी) ले सोध्नुभएछ । मेरो नाम भनेपछि ए.. त्यो काले ठीक छ भन्नुभएछ । म गहुँगोरो, आफ्नो वर्ण त्यस्तै लेख्थँे । उहाँले माया गरेर भनेपछि मलाई ‘काले’ नै प्यारो लाग्यो ।’ कार्यकर्ताप्रति सकारात्मक सोच हुनेमा बिपीजति कसैलाई मान्दैनन् उनी । भन्छन्, ‘गणेशमानजीमा पनि केही थियो । तर, किसुनजीचाहिँ कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु हुँदैनथ्यो ।’ तर, आज आएर टीकाटिप्पणी गर्नु ठीक होइन भन्दै प्रसंग मोडे उनले, मुलुकमा चर्किरहेको संघीयताको बहसतर्फ ।
हाम्रो जस्तो गरिब र सानो देशलाई संघीयतामा लाने निर्णय गर्नु ठीक लाग्दो रहेनछ यी नेतालाई चाहिँ । भन्छन्, ‘अब संघीयतामा त जाला तर थेग्ने कसरी पो हो †’ जातीय राज्य बनाउने प्रयत्न गर्ने एमाओवादी अध्यक्ष प्रचण्डलाई नै आज त्यो निर्णय घाँडो भइरहेको यी देख्दा रहेछन् । ‘अहिले त प्रचण्डलाई नै त्यो निर्णयले गर्दा राति निद्रा लाग्दैन होला,’ उनले भने, ‘आज एउटाले भनेको ठीक भन्ने, भोलि त्यसैलाई बेठीक भन्ने, पर्सि अरू कसैले भनेको ठीक भन्ने पनि कहीँ राष्ट्रिय नेता हुन्छन् ।’ ‘दिनैपिच्छे सहमतिमा हस्ताक्षर गर्ने तर लागू नगर्ने’ बानी उनलाई पटक्कै ठीक लाग्दैन रे †
यसबीच कांग्रेस फुटेर दुई टुक्रा भएको घटनाले उनलाई अझै पनि दुखाउँदो रहेछ । भन्छन्, ‘नफुट्नुपर्ने हो फुट्यो । फेरि एकता पनि भयो तर जसरी हुनुपर्ने हो भएन । नाम मात्र एकता भयो, भावनात्मक रूपमा आत्माको मिलन हुन सकेन ।’ देशको पछिल्लो परिस्थितिमा देशकै पुरानो पार्टी कांग्रेसले अगुवाको भूमिका निर्वाह गर्न नसकेको उनी देख्छन् । भन्छन्, ‘पार्टी फुटेको र जुटेको मौकामा व्यक्तिगत फाइदा लिने मात्रै भए । लोकतान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ तर यसलाई नेताले स्वाभाविक रूपमा लिन सकेनन् ।’ कतै नेपालका नेताले लोकतन्त्रको उपयोग गर्न नजानेका त होइनन् ? उनी भन्छन्, ‘होइन लोकतन्त्रका सुखद् पक्ष प्रशस्तै छन्, तर त्यसलाई उपयोग त गर्न सक्नुपर्‍यो नि †’
नेताहरूमा पार्टीभित्र र बाहिर गरेको निर्णय र सहमतिलाई दृढतापूर्वक लागू गर्ने क्षमतै देख्दैनन् यी नेता । सबै पार्टीभित्र स्वार्थीको भिड जम्दै गएको बताउँछन् । भन्छन्, ‘कतिको मात्रै नाम लिनु, साध्यै छैन । त्यही संसदीय दलको नेतालाई चाकडी गर्नेको जमातसमेत सानो छैन ।’ जेठ १४ भित्र संविधान जारी नभए के होला ? उनले भने, ‘देशकै दुर्भाग्य हुन्छ, त्यसैले सबै नेतामा सद्बुद्धि आओस्, समयमै समस्या टुंगियोस् ।’ समय छँदै देशका समस्या समाधान नगरे निम्तिन सक्ने परिणतिको जिम्मेवार नेताहरू नै हुनुपर्नेतर्फ खबरदारी गरे यी नेताले ।

प्रतिक्रिया