‘आमसहमति गरेर संविधान जारी गर्न प्रस्ताव’

काठमाडौं, १० जेठ । कांग्रेस र एमालेले तोकिएकै समयमा आमसहमति गरेर नयाँ संविधान जारी गर्न कांग्रेस र एमालेले प्रस्ताव गरेका छन् । उनीहरुले जेठ–१४ अगावै प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने समेत माग अघि गरेका छन् ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकमा तोकिएकै समयमा संविधान जारी गर्न प्रयास गर्नुपर्ने भन्दै कांग्रेस र एमालेले एमाओवादी र मधेसी मोर्चालाई दबाव दिएका छन् ।
कांग्रेस र एमालेले जेठ–१४ अघि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सर्त अघि सारेपनि प्रधानमन्त्रीले तत्काल राजीनामा दिने पक्षमा नरहेको स्रोतको भनाई छ ।
बैठकमा आमसहमति बनाएर जेठ–१४ गतेभित्रै संविधान ल्याउन पहल गर्नुपर्ने कांग्रेस र एमालेको दबाव थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले छलफल जारी रहेको भन्दै संविधानमा आमसहमति गरेर संविधानको मस्यौदा निर्माण गर्नुपर्ने बताए ।
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले आमसहमति हुन सक्यो भने संविधान जारी हुने वातावरण बन्ने बताए ।
संविधानसभाको म्याद थप सम्बन्धी सरकारी प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि कांग्रेस र एमाले एमाओवादी सहित प्रधानमन्त्रीसँग रुष्ट भएका छन् ।
यसै अघि आजै विहान एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूबीच संविधानसभाको समयावधि तीन महिना थप गर्ने प्रस्ताव दर्ता भएपछिको उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।
संविधान निर्माणमा शासकीय स्वरूप र राज्यको पुनःसंरचनालगायतका विषयमा सहमतिको प्रयास जारी राख्दै संविधानसभामा हुने मतदान प्रक्रियाबारे आफूहरूबीच कुराकानी भएको एमाओवादी उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया