म्याद थपको प्रस्तावमा राष्ट्रपति असन्तुष्ट

काठमाडौं, १० जेठ । संविधानसभाको म्याद थपको प्रस्ताव संसदमा दर्ता भएलगत्तै राष्ट्रपति डा.रामवरण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालवीच आज भेटबार्ता भएको छ ।
डा.यादवले सरकारले संविधानसभाको म्याद तीन महिना थप्न संसद सचिवालय दर्ता गराएको प्रस्तावप्रति चासो र चिन्ता जनाएका छन् । उनले समयमा संविधान जारी गर्न प्रयास गर्नुको साटो म्याद थप तर्फ प्रमुख दलहरु उन्मुख भएको भन्दै चिन्ता जनाएको स्रोतले बताएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा डा.यादवले एमाओवादी अध्यक्ष दाहाललाई अझैपनि केही नविग्रिएको भन्दै लचकताका साथ सहमति गरेर संविधान जारी गर्न सुझाव दिएका छन् ।
एमाओवादी अध्यक्ष दाहालले दलहरुका वीच सहमतिको प्रयास जारी रहेको भन्दै सहमति जुटे जेठ १४ मै नयाँ संविधान ल्याउन सकिने आश्वासन दिएका छन् ।
सरकारको म्याद थप्ने प्रस्तावप्रति सत्तारुढ कांग्रेस र एमाले नै विरोध गरेपछि राष्ट्रपति डा.यादवले यस बारे चासो राखेका थिए ।

प्रतिक्रिया