तरकारीको मूल्य अकासियो


काठमाडौं, १० जेठ । आदिवासी जनजाति संघर्ष समितिले गरेको बन्दले तरकारीको मूल्य अकासिएको छ ।
किसानद्वारा उत्पादित तरकारी समयमा बजारमा पुग्न नसक्नु, व्यवसायीले तरकारी खरिद गर्न र उपभोक्ताले उपभोग गर्न नपाउनुजस्ता कारणले मूल्य अकासिएको हो ।
बन्दका कारण कालिमाटी फलफूल तथा तरकारी भण्डारणमा रहेका सयौँ मेट्रिक टन तरकारी कुहिएका छन् । यसले पनि बजारमा तरकारी अभाव अझ चर्काएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य एवं व्यवसायी भगवानचन्द्र उप्रेतीले बन्दले एक हजार मेट्रिक टनभन्दा बढी तरकारी कुहिएको बताए । उनले भने, ‘एम्बुलेन्स, दूधलगायतका साधनलाई जस्तै तरकारीलाई पनि अत्यावश्यक वस्तुका रूपमा राख्नुपर्छ ।’
यसैबीच विराटनगरबाट प्राप्त समाचारअुनसार बन्दले तरकारी आयात हुन नसक्दा  मूल्यमा तीन गुणा वृद्धि भएको छ । बन्द अझै लम्बिए महंगी बढ्ने मात्र नभई तरकारीको हाहाकार नै हुने विराटनगरका तरकारी व्यावसायी पशुपति भगत बताउँछन् ।
विराटनगरको गुद्री बजार तरकारीका लागि पूर्वको मुख्य बजार हो । यहाँबाट काठमाडां, नारायणघाट, धरान, इटहरी, दमकलगायत अन्य स्थानीय बजारमा समेत तरकारी निर्यात हुने गर्छ । तर, बन्दले गर्दा भारतीय बजारबाट गरिने तरकारी आयातमा समस्या पर्न थालेको छ ।
भगतका अनुसार बन्दकर्ताले चार जेठसम्म बिहान–बेलुका यातायात खुला गरेका थिए । सोही कारण तरकारी आयातमा खासै  समस्या थिएन । तर, ५ वैशाखदेखि बिहान–बेलुकासमेत हडताल गरिएकाले तरकारी आयात ठप्प छ । व्यवसायीका अनुसार सीमावर्ती बजार भएकाले खुद्रा व्यापारीले रिक्सा र ठेलामा तरकारी ल्याएर बिक्री गर्ने गर्छन्, तर त्यसले मात्रै बजारको माग धान्न सक्ने अवस्था छैन ।
बन्दमा विराटनगरबाट अन्य बजारमा तरकारी ढुवानी हुन नसक्दा अन्यत्र पनि अभाव देखिएको छ । स्थानीय उत्पादनले थेग्न नसकेपछि आलु पश्चिम बंगालको धुपगढी र प्याज विहारको पटनाबाट र परवल कलकत्ताको रानाघाटबाट आयात भइरहेको छ ।
तरकारीमा वर्षको १० महिना भारतको भरपर्नु पर्ने बाध्यता रहेको तरकारी व्यावसायी बताउँछन् । लगातारको बन्दले गर्दा बजारमा पहिलेको तुलनामा तरकारीको मूल्य अझ महंगो हुन थालेको छ । गुद्री बजार समितिका अनुसार वैशाखमा २० रुपियाँ केजी रहेको टमाटरको मूल्य अहिले ६० रुपियाँ पुगेको छ । यसैगरी परवल १२ रुपियाँबाट ३५,  भिन्डी १० बाट ३०,  काँक्रो १५ बाट ४० रुपियाँ पुगिसकेका छन् ।  अहिलेसम्म आलु र प्याजको आपूर्ति भइरहेकाले खासै भाउ वृद्धि नभएको तर आयात ठप्प भए तीनदिन भित्रै बजारमा हाहारकार हुने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया