नायग्रा फल्समा ‘चमत्कार’

न्युयोर्क, १० जेठ । अमेरिका र क्यानाडाको सीमामा पर्ने विश्वकै अग्लो छाँगो ‘नायग्रा फल्स’ हेर्दैमा कहाली लाग्दो छ । एक सय ८० फिट अग्लो यो छाँगोबाट खस्ने मान्छे बाँच्ला भन्ने कल्पना मात्र गर्न पनि गाह्रो हुन्छ । तर, यही छाँगोबाट खसेका ४० वर्षीय एक व्यक्तिको सकुशल उद्धार गरिएपछि धेरैले यसलाई ‘नायग्राको चमत्कार’ भनेका छन् ।
नाम नखुलेका ती व्यक्तिले छाँगोबाट फाल हानेर आत्महत्याको प्रयास गरेका थिए । सोमबार बिहान ती व्यक्तिले रेलिङ नाघी छाँगोमा फाल हानेको केही मानिसले देखेपछि उनीहरूले पार्क प्रहरीलाई खबर गरेका थिए ।
उद्धारकर्ताको टोलीले ती व्यक्तिलाई नायग्रा नदीको किनारातिर तैरिरहेको देखे । ‘उनको अवस्था देख्दा उनी मूल भँगालोबाट उम्किएर आफ्नै प्रयासमा किनारातिर आएजस्तो देखिन्थ्यो,’ पार्क प्रहरीका वरिष्ठ अधिकारी डान ओरेस्कानिनले भने । किनारासम्म आइपुग्नु उनको ठूलो भाग्य भएको बताउँदै ओरेस्कानिनले भने, ‘धन्न उनलाई बचाउन सकियो, भँगालोमा फसेका भए उनलाई नदीले बगाएर लैजाने पक्का थियो ।’
उद्धारकर्मी पुग्दा होसमा रहेका ती व्यक्तिले त्यसपछि होस गुमाएका थिए । उनको छाती र टाउकोमा गम्भीर छोट लागेको छ । उनको करङ भाँच्चिएको र फोक्सोमा गहिरो चोट लागेको छ । उद्धारपछि उनलाई हेलिकोप्टरमा राखी अस्पताल पुर्‍याइएको थियो । उनको अवस्था गम्भीर भए पनि मृत्यु हुने सम्भावना टरेको अस्पतालले जनाएको छ । (डेलिमेल)

प्रतिक्रिया