ओबामाद्वारा पाकिस्तानको बेवास्ता

सिकागो, १० जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा तैनाथ नेटो सैनिकका लागि आवश्यक सरसामान आपूर्ति गर्न सहयोग गर्ने राष्ट्रको सूचीमा पाकिस्तानको नाम छुटाएका छन् । अफगानिस्तानमा तैनाथ नेटो सैनिकले उपभोग गर्ने सरसामानको ठूलो मात्रा पाकिस्तानी नाकामार्फत हुँदै आए पनि ओबामाले यसको बेवास्ता गरेका हुन् । यसबाहेक पाकिस्तानले अमेरिकी नेतृत्वमा थालिएको ‘आतंकवादविरोधी युद्ध’मा समेत अग्र मोर्चामा रहेर काम गरिरहेको छ । युद्धको साझेदार राष्ट्र पाकिस्तानको नाम ओबामाले छुटाएपछि यसलाई ‘पाकिस्तानप्रतिको ओबामाको बेवास्ता’का रूपमा हेरिएको छ ।
सोमबार अमेरिकी सहर सिकागोमा भएको नेटो सम्मेलनको दोस्रो तथा अन्तिम दिन ओबामाले भने, ‘म अफगान राष्ट्रपति हमिद कार्जाइसहित मध्यएसिया र रुसका अधिकारीहरूलाई अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय सुरक्षा बलको महत्त्वपूर्ण ट्रान्जिट रुट उपलब्ध गराएकामा स्वागत गर्छु ।’ गत वर्ष पाकिस्तानले आफ्नो भूमि हुँदै नेटो सैनिकका लागि हुने आपूर्तिमा प्रतिबन्ध लगाएपछि यसप्रति असन्तुष्टि जनाउन ओबामाले पाकिस्तानको नाम छुटाएको अनुमान गरिएको छ ।
पाकिस्तानसँगको अफगानिस्तानको सीमावर्ती क्षेत्रबाट नेटोले गत वर्षको नोभेम्बरमा आक्रमण गर्दा २४ पाकिस्तानी सैनिकको मृत्यु भएपछि पाकिस्तानले नेटो आपूर्तिमाथि प्रतिबन्ध लगाएको थियो । तर, सिकागोमा नेटो सम्मेलन सुरु हुनुअघि पाकिस्तानले आपूर्ति मार्ग खुला गर्ने निर्णय गरेको थियो । अमेरिकाको पटकपटकको आग्रहपछि मार्ग खुला गर्न पाकिस्तान सहमत भएको थियो । त्यसपछि नेटोले शिकागोमा हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानलाई निम्तो दिएपछि राष्ट्रपति असिफ अलि जर्दारी त्यहाँ पुगेका थिए ।
अमेरिका पुगेका जर्दारीसँग छुट्टै द्विपक्षीय भेट नगरेर ओबामाले पाकिस्तानलाई थप बेवास्ता गरेको संकेत दिए । तर, सम्मेलनकै क्रममा ओबामा र जर्दारीबीच केही बेर कुराकानी भएको थियो । भेटपछि ओबामाले भनेका थिए, ‘याद राख्नुस्, राष्ट्रपति जर्दारीसँग मेरो अत्यन्त छोटो कुराकानी सम्मेलन स्थलतर्फ जाने क्रममा भएको थियो । मैले सार्वजनिक रूपमा बताउँदै आएको कुरा उनीसँगको कुराकानीमा पनि उठाएँ । अफगानिस्तानको समस्या समाधानको हिस्सेदारी पाकिस्तानले लिनुपर्छ भन्ने मेरो धारणा छ । पाकिस्तान लोकतान्त्रिक, सम्पन्न र स्थिर देश बन्नु अमेरिकाको राष्ट्रिय हितमा रहेको कुरा पनि मैले भनेँ ।’ यद्यपि, ओबामाले पाकिस्तानसँगको तनाबले अफगानिस्तानमा अमेरिकी हितमा क्षति पुर्‍याउने स्वीकार गरे ।
पाकिस्तान नेटोको सदस्य होइन तर अफगान मामिलामा गहिरो प्रभाव राख्ने पाकिस्तानको संलग्नता अफगान संकट समाधानमा अपरिहार्य रहेको ठहर गर्दै पाकिस्तानलाई सम्मेलनमा आमन्त्रण गरिएको थियो । जर्दारीको अमेरिका भ्रमणका क्रममा दुई देशबीच तनाब कम गर्ने पहल हुने विश्वास गरिएको थियो । तर, सिकागो पुगेका जर्दारीले ओबामासँग छुट्टै छलफल गर्ने अवसर पाएनन् । अफगान राष्ट्रपति कार्जाइ र ओबामाबीच भने भेटवार्ता भएको थियो । (बिबिसी)

प्रतिक्रिया