झापा र नवलपरासीमा पत्रिका बन्द

काठमाडौं, १० जेठ । जातीय संगठनका बन्दका क्रममा समाचार संकलन गर्न गएका पत्रकारमाथि आक्रमण हुने क्रम जारी छ । आक्रमणको विरोधमा झापा र नवलपरासीका स्थानीय पत्रिका प्रकाशन बन्द गरिएका छन् ।
थारू संयुक्त संघर्ष समितिका कार्यकर्ताले सगरमाथा टिभीका संवाददाता दीपा आले मगरलाई आक्रमण गरेर घाइते बनाएका छन् । कोहलपुरबाट नेपालगन्ज घर फर्कने क्रममा चित्रनगरमा राति बाटोमा लुकेर बसेका आन्दोलनकारीले आक्रमण गरेका हुन् ।
नेपालगन्ज नर्सिङ होममा उपचार गराइरहेका आलेको आँखामा गम्भीर चोट लागेकाले प्लास्टिक सर्जरी गरिएको छ । आलेले चढेको भे ३ प ५८६ नम्बरको मोटरसाइकल पनि आक्रमणकारीले तोडफोड गरेका छन् । आक्रमणमा परेकी पत्रकार आले जनजाति पत्रकार संघ बाँकेकी सदस्य हुन् ।
यस्तै, बाँके नौवस्ता–८ बानियाँभारमा सोमबार राति नै नेपाल टेलिभिजनका बर्दिया संवाददाता डिलप्रसाद गौतममाथि आक्रमण भएको छ । सुर्खेतबाट आउने क्रममा गौतमलाई लुकेर बसेका थारू युवाले आक्रमण गरेका थिए । सामान्य चोटपटक लागेका गौतम घर फर्किएका छन् । उनको मोटरसाइकलमा पनि तोडफोड भएको छ ।
जातीय राज्यको मागमा चर्केको आन्दोलन र त्यस क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममा भएको आक्रमणको विरोधमा झापाका दैनिक पत्रिका दुई दिन बन्द गरिएका छन् । नेपाल पत्रकार महासंघले बुधबार र बिहीबार झापामा कुनै पनि दैनिक पत्रिका प्रकाशन नगर्ने निर्णय गरेको हो । झापाबाट सातवटा दैनिक पत्रिका प्रकाशनमा छन् । सातवटा साप्ताहिक पत्रिका पनि प्रकाशन भइरहेका छन् । आदिवासी जनजातिका नाममा भएको बन्दमा सञ्चारकर्मीमाथि लगातार आक्रमण भएपछि पत्रिका प्रकाशन स्थगित गरिएको अध्यक्ष गणेश पोखरेलले बताए ।
यस्तै, जातीय संगठनले आह्वान गरेको बन्दका क्रममा पटकपटक पत्रकार तथा सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नवलपरासीका पत्रकार पनि आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ नवलपरासीले जिल्लाबाट प्रकाशन हुने सबै पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको हो । यस्तै, जिल्लाका विद्युतीय सञ्चारमाध्यममा मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्मका समाचार बुलेटिन स्थगित गरिएको थियो । नवलपरासीमा पत्रकार हरि शर्मामाथि आक्रमण भएको थियो भने रेडियो मध्यबिन्दु एफएम परिसरमा बन्दकर्ताले नाराबाजी गरेर दबाब दिए । यस्तै पप्पु रेग्मीलाई फोनबाट धम्की दिइएको छ भने कान्तिपुर दैनिक जलाइएको थियो ।
यस्तै, बन्दकर्ताले हेटौंडा सन्देशका सम्पादक रामशरण पुडासैनीलाई पनि हेटौंडा बजारमा दुव्र्यवहार गरेका छन् । ‘हाम्रो समाचार नलेख्ने’ भन्दै पुडासैनीलाई फेरि बजार आए मोटरसाइकल जलाइदिन्छु भनेर दिएको धम्कीको अधिकारकर्मी संस्थाहरूले विरोध गरेका छन् ।

आदिवासी र थारूले माफी मागे
चितवन : आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङले बन्दका क्रममा चितवनका सञ्चारकर्मीमाथि भएको आक्रमणका सम्बन्धमा माफी मागेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनको कार्यालय पुगेर अध्यक्ष गुरुङले घटनाप्रति दु:ख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् । महासंघले सञ्चारकर्मीमाथि लगातार आक्रमण हुन थालेपछि आन्दोलन थाल्ने तयारी गरेपछि आदिवासी जनजाति महासंघले आन्दोलनका क्रममा हुने अप्रिय छिटपुट घटनालाई बढाउन नहुने भन्दै क्षमायाचना गरेको हो ।
अध्यक्ष गुरुङले हुलमा हुने घटनामा दोषी पहिचान गर्न कठिन हुने र सबै घटनाको क्षतिपूर्ति दिन सक्ने सामथ्र्य नहुने भएकाले आफ्नातर्फबाट क्षतिपूर्ति दिन नसक्ने स्पष्ट पारे । यसैगरी, संयुक्त आदिवासी संघर्ष समितिले गरेको बन्दमा महासंघका सचिव राधेश्याम खतिवडालगायत सञ्चारकर्मीमाथिको दुव्र्यवहारप्रति थारू संयुक्त संघर्ष समितिले क्षमायाचना गरेको छ ।
समितिले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति आफूहरू निकै दु:खी भएको भन्दै आगामी दिन यस्तो घटना पुन: दोहोरिन नदिने प्रतिबद्धतासमेत जनाएको छ । (सौस)

प्रतिक्रिया