निर्मातालाई रुनु न हाँस्नु


काठमाडौं,  ९ जेठ । लगातारको आमहडतालका कारण सिनेमा हलहरू खुल्न नसेकपछि प्रदर्शनमा रहेका चलचित्रका निर्माता रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । त्यसमाथि अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएका दुई चलचित्र मार्‍यो नि मायाले मार्‍यो र हाम्रो भूमिले त दर्शकको मुखै देख्न पाएका छैनन् । बन्दकै कारण लगानी फस्ने सम्भावना देखेपछि प्रदर्शनको तयारीमा रहेका चलचित्रले प्रदर्शनमिति सारिरहँदा यी दुई चलचित्रले ‘रिस्क’ मोलेका थिए । तर, यो रिस्क उनीहरूका लागि महँगो साबित हुँदै गएको छ, बन्दको शृंखला लम्बिँदै जाँदा घाटाकै मारमा पिल्सिइने हो कि भन्ने चिन्ता निर्माताहरू गर्न थालेका छन् ।
मार्‍यो नि मायाले मार्‍योका निर्माता बाबु बलामी भन्छन्, ‘शुक्रबार र शनिबार जति कलेक्सन गरे पनि त्यसपछिका दिनमा चलचित्रले पिकअप लिने आशा थियो । तर लगातारको बन्दले ध्वस्त पारिदियो, मेरो त होसहवासै उडिसक्यो ।’ डेढ लाख रुपियाँ खर्च गरेर ‘ओपनिङ पब्लिसिटी गरिएको’ बताउँदै उनले अहिलेसम्म पब्लिसिटीको रकम मात्रै पनि नउठेको गुनासो सौर्यसँग गरे । मोफसलको प्रदर्शनपछि उपत्यकामा आएको यो चलचित्र हलमा लागेपछि आमहडताल नभएका दिन पाउन मुस्किल छ । यस्तो अवस्थामा किन रिस्क मोले त बलामीले ? ‘निर्माता संघले आगामी १९ गतेसम्म चलचित्र हलमा राखिदिने बताएको छ,’ भन्छन्, ‘संघको यो आश्वासनपछि आशाका केही किरण पलाएका छन् ।’ उनका अनुसार केही गरी १९ गतेसम्म चलचित्र हलमा बसेन वा बन्द खुलेन भने कुल लगानीको २५ प्रतिशत रकम पनि उठ्नेछैन । ‘के गर्ने–गर्ने, कस्तो बेलामा फिल्म लगाइएछ †’ उनले अप्ठ्यारो सुनाए । अग्रज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, शोभिता सिंखडा, प्रमोद खड्का, हिमाल काफ्ले, गीता अधिकारी, शिवानी बलामी मुख्य कलाकार छन् ।
गत शुक्रबारदेखि नै उपत्यकामा प्रदर्शनमा आएको हाम्रो भूमि चलचित्रको हालत पनि उस्तै छ । निर्माता समीर बलामीको पीडा पनि उस्तै छ । बन्दका कारण १० लाख रुपियाँको हाराहारीमा घाटा लागेको उनले सुनाए । ‘हलमा डेट फिक्स गरेर मात्रै के गर्नु, बन्द नखुलेपछि हलमा चलचित्र लगाउने कुरा आएन †’ उनी भन्छन्, ‘अनिश्चितकालीन बन्द अझै लम्बिएला जस्तो छ, मारमै पर्ने भइयो ।’ तैपनि, निर्माता संघले अर्को साता पनि चलचित्र हलमा राख्न पहल गरिदिने आश्वासन दिएपछि उनमा पनि आशा पलाएको छ । ‘यसले गर्दा केही ढुक्क हुन सकिएको छ,’ उनले भने, ‘यदि १९ गतेअगाडि नै चलचित्र निक्लियो भने त सिधै घाटामै जानेछ ।’
अर्को चलचित्र सायद प्रदर्शनको दोस्रो सातामा छ । पहिलो सातामा राम्रै व्यापार भएको जानकारी गराएको यो चलचित्रको दोस्रो सातादेखिको व्यापार भने अनिश्चितकालीन आमहडतालले पूरै प्रभावित पारिदिएको छ । प्रदर्शनको पहिलो दिन नै बन्दको सामना गरेको यो चलचित्रले त्यसपछिका केही दिनमा आशाजनक व्यापार गरेको थियो । प्रदर्शनमा रहेको अर्को चलचित्र फूल पनि बन्दकै कारण नराम्ररी ओइलन पुगेको छ ।

प्रतिक्रिया