पर्यटक त्राहाको अवस्थामा


काठमाडौं, ८ जेठ । बन्द–हडतालको श्रृंखला बढेपछि अस्ट्ेरलिया सरकारले नेपालमा उच्च सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । तीनदिने नेपाल बन्द सुरु भएकै दिन शुक्रबार अस्ट्रेलियाले सरकारी वेबसाइट डब्लुडब्लुडब्लु डट स्मार्टट्राभलर डट जिओभी डट एयुमा उक्त सूचना जारी गरेको हो ।
अस्ट्ेरलियन सरकारले ‘ट्राभल एडभाइजरी’ अपडेट गर्दै नेपालमा देशव्यापी आमहडताल सुरु भएकाले नेपालमा रहँदा सुरक्षाको विषयमा सतर्क रहन आग्रह गरेको छ । नेपाल भ्रमणमा जान चाहने नागरिकलाई पनि सरकारले सचेत हुन अनुरोध गरेको छ । ‘अस्थिरता तथा राजनीतिक तनाबले मुलुकभर नै सहज रूपमा गतिविधिहरू हुनसकेको छैनन् । अस्थिर राजनीति तथा सुरक्षास्थितिका कारण नेपालमा रहँदा चनाखो रहन आग्रह गर्दछौँ ।’ अस्ट्रेलिया सरकारले भनेको छ ।
यसअघि नेपालको राजनीति र सुरक्षा अवस्था अनिश्चित भएको र केही समयअघि तराईमा बम विस्फोटको घटना भएको भन्दै गत वर्ष वैशाखमा पनि अस्ट्रेलियन सरकारले नेपाल भ्रमण गर्दा सचेत रहन आफ्ना नागरिकलाई सूचित गरेको थियो । त्यस्तै गत फागुन दोस्रो साता सिंहदरबार नजिकै बम विष्फोट भएकै दिन बेलायतले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो ।
विदेशी पर्यटक सुरक्षाको मामलामा बढी संवेदनशील हुने भएकाले ट्राभल एडभाइजरीको असर पर्यटक आगमनमा देखिनसक्ने पर्यटन व्यवसायी बताउँछन् । एउटा मुलुकले जारी गरेको एडभाइजरीले अर्को मुलुकका पर्यटकसमेत प्रभावित हुने अनुभव उनीहरूको छ । ‘नेपाल आउने तयारी गरिरहेको पर्यटकले पनि यसबारे पुनर्विचार गर्छन्,’ टुरिस्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेराम बरालले भने ।
बन्दका कारण आइतबार अधिकांश पर्यटक आफू बसेको होटलबाहिर निस्केर अन्य गतिविधिमा संलग्न हुन पाएनन् । बन्दले सबै किसिमका पर्यटकीय गतिविधिमा असर परेको पर्यटन व्यवसायीले बताए । पटकपटक भइरहने बन्द–हडतालले नेपालको पर्यटकीय गतिविधि ७५ प्रतिशतसम्म घटेको उनीहरूको दाबी छ । ट्राभल, टुर, पर्यटकीय क्षेत्र तथा गन्तव्यको दृश्यावलोकनलगायतका गतिविधि बन्दकै कारण २० प्रतिशत मात्र भएको नेपाल पर्यटक यातायात व्यवसायी संघले जनाएको छ । बन्दमा प्राय: पर्यटकले कुनै पनि पर्यटकीय गतिविधि नरुचाउने संघका अध्यक्ष रामहरि शर्माले बताए । ‘घुम्न चाहने पर्यटकलाई पनि घुमाउन सकिएको छैन,’ उनले भने ।
आइतबारको बन्दमा बन्दकर्ता ‘अराजक’ रूपमा प्रस्तुत भएपछि पर्यटक पनि त्रसित भए । व्यवसायीका अनुसार पर्यटकलाई होटलबाट विमानस्थल पुर्‍याउने र विमानस्थलबाट होटल ल्याउनेबाहेक अन्य पर्यटकीय गतिविधि भएनन् । सामान्य दिनमा एक हजारभन्दा बढी पर्यटक सवारीसाधन दैनिक सञ्चालन हुने गरेका छन् । तर, बन्दका कारण आइतबार करिब एक सय ५० पर्यटक सवारी मात्र गुड्न सके । नेपाल पर्यटन बोर्डले बन्दको समयमा विदेशी पर्यटकलाई लक्षित गरी सटल बसमार्फत सेवा उपलव्ध गराउने गरेको छ । बोर्डका अनुसार यस्तो सवारीसाधन विमानस्थलबाट पर्यटकलाई होटलसम्म ल्याउने र लाने काममा मात्र प्रयोग हुने गरेको छ । आइतबार पनि बोर्डले हिमालय उद्धार संघको सहकार्यमा चारवटा सटल बस सञ्चालन गरेको छ ।
बन्द हडतालका कारण घुम्न आएका पर्यटकले भ्रमण छोट्याएर फर्किने गरेको व्यवसायी बाताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बन्द हडतालका कारण नेपाल आउने पर्यटकभन्दा बाहिरिनेको संख्या बढेको छ ।
एक दिनको बन्दले पनि पर्यटन क्षेत्रलाई लामो प्रभाव पार्छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स (नाट्टा) का अनुसार नयाँ बुकिङ नहुने र भइसकेका बुकिङसमेत धमाधम रद्द हुने क्रम बढेको छ । अप्रिलको तुलनामा मेमा ५० प्रतिशत बुकिङ कम भइसकेको छ । अधिकांश पर्यटकले असुरक्षाको कारण बुकिङ रद्द गर्ने गरेका छन् । सन् ०१२ को पहिलो चार महिनामा पर्यटक आगमनदर हालसम्मकै उच्च रहेको भन्दै उत्साह थपिएका बेला भएका बन्द–हडतालले व्यवसायी चिन्तित भएका छन् ।
बन्दका कारण पर्यटकीय क्षेत्र ठमेलसहित मुख्य बजार क्षेत्रका रेस्टुरेन्ट आइतबार दिनभर खुलेनन् । ट्राफिक प्रहरीको ‘मापसे’ कारबाहीका कारण प्रभावित रेस्टुरेन्ट व्यवसाय बन्दले झनै नोक्सानीमा परेको व्यवसायी बताउँछन् ।
अहिलेको बन्दले आउँदो सिजनको ट्रेकिङमा पनि असर पर्ने देखिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले सेप्टेम्बरदेखि सुरु हुने ट्रेकिङ सिजनका लागि अहिल्यै बुकिङ सुरु हुने भए पनि यस वर्ष बुकिङ नभएको बताए । लम्सालका अनुसार भएको बुकिङ पनि २५ प्रतिशत रद्द भइसकेको छ । पर्यटनको मुख्य सिजनको रूपमा लिइने सेप्टेम्बर, नोभेम्बर र अक्टोबरलाई अहिलेको बन्दले असर पार्ने देखिएको छ ।

प्रतिक्रिया