‘चीनबाट भारतलाई खतरा छैन’

चेन्नाई, ८ जेठ । भारतको सेनासहित त्यहाँका वरिष्ठ नेता र बुद्धिजीवीहरूले चीनलाई भारतको मुख्य चुनौती किटान गरिरहेका बेला भारतीय प्रतिरक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने चीनबाट भारतलाई कुनै खतरा नरहेको बताएका छन् । प्रतिरक्षा राज्यमन्त्री एमएम पाल्लम राजुले शनिबार यस्तो बताएका हुन् । बाह्य सुरक्षामा खलल नपुगोस् भनेर भारतले प्रतिरक्षा क्षमता निरन्तर बढाइरहेको उनले प्रस्ट पारेका छन् ।

‘चीनबाट खतरा आइलाग्छ जस्तो मलाई लाग्दैन । चीनसँग हाम्रो स्वस्थ आर्थिक साझेदारी छ ।
यो सत्य हो कि हामीबीच सीमा विवादलाई लिएर दृष्टिकोणमा भिन्नता छ तर दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको जस्तो उच्चस्तरका बैठकमा हामीले यससम्बन्धी प्रसंग उठाइरहेका छौँ,’ उनले भने  । भारत र चीनबीच द्वन्द्व हुनुपर्ने कुनै कारण आफूले नदेखेको समेत उनले बताए ।
भारतको प्रतिरक्षा क्षमता सशक्त रहेको दाबी गर्दै उनले भने, ‘हाम्रो प्रतिरक्षा हैसियत सशक्त छ । यसलाई हामी थप सशक्त बनाइरहेका छौँ । चीन र भारतबीच द्वन्द्व हुनुपर्ने कारण मैले देखेको छैन । हामी पारस्परिक लाभ हासिल गर्ने प्रयत्न गरिरहेका छौँ,’ उनले भने ।
चीनबाट चुनौती छैन भने किन प्रतिरक्षा क्षमता सुधार गरेको भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘विशाल जनसंख्या र विश्वव्यापी बन्ने गरी निरन्तर बढिरहेको अर्थतन्त्रका कारण पनि प्रतिरक्षा क्षमता सशक्त बनाउनु हाम्रा लागि आवश्यक भएको छ ।’
केही दिनअघि भारतीय सैनिकले तयार पारेको एक प्रतिवेदनमा चीनलाई मुख्य सुरक्षा चुनौतीमध्ये एक किटान गरिएको थियो । चीन र पाकिस्तानबीच सैन्य सम्बन्ध विस्तार भइरहेकाले एकैपटक दुई मोर्चामा युद्ध लड्नुपर्ने हुन सक्न भन्दै प्रतिरक्षा बजेट बढाउन प्रतिवेदनमा माग गरिएको थियो । एजेन्सी

प्रतिक्रिया