फोन्सेकालाई रिहा गर्न आदेश

कोलम्बो, ८ जेठ । श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेले पूर्व सेनाप्रमुख सरथ फोन्सेकालाई रिहा गर्ने आदेश दिएका छन् । राष्ट्रपतीय निर्वाचनमा राजापाक्षेका प्रतिद्वन्द्वीसमेत रहेका फोन्सेका निर्वाचनपछि हिरासतमा थिए । अमेरिकालगायत पश्चिमी राष्ट्रले फोन्सेकालाई रिहा गर्न राजापाक्षेलाई दाबाब दिँदै आएका थिए ।
कानुनी औपचारिकता पूरा गरी ६१ वर्षीय फोन्सेका सोमबार कारागारबाट बाहिरिन सक्ने एक अधिकारीले बताए । सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित भएको दुई सातापछि उनलाई पक्राउ गरिएको थियो ।
राष्ट्रपतिका प्रवक्ता बान्दा जयसेकराले फोन्सेकालाई रिहा गर्ने आदेशमा राष्ट्रपतिले बिहीबार साँझ हस्ताक्षर गरेको जानकारी दिए । यससम्बन्धी कागजात सोमबार न्यायमन्त्रालयमा पठाइने उनले बताए ।
फोन्सेकाकी पत्नी अनिमा फोन्सेकाले पतिको रिहाइसम्बन्धी निर्णयको स्वागत गरिन् । तर, राष्ट्रपतिले आफ्ना पतिलाई आममाफी दिनुको कारण थाहा नभएको उनले बताइन् । पतिलाई विनासर्त रिहा गरिने अपेक्षा आफूले गरेको उल्लेख उनले गरिन् । रिहाइपछि पतिलाई राजनीतिमा फर्कन समस्या नपर्ने आशासमेत उनले व्यक्त गरिन् ।
अधिकारीहरूले भने फोन्सेकाको कारावास अवधि घटाइए पनि रिहाइको सात वर्षसम्म निर्वाचनमा भाग लिने अधिकार उनले नपाउने बताए । सन् २००९ मा तमिल टाइगर विद्रोही नियन्त्रण गर्ने अभियान सुरु हुँदा फोन्सेका श्रीलंकाका सेनाप्रमुख थिए । तर, तमिल विद्रोहीमाथि विजय हासिल गरेपछि राष्ट्रपति राजापाक्षेसँग उनको मनमुटाव उत्पन्न भएको थियो । युद्धका अन्तिम दिनमा ४० हजार नागरिकको मृत्युको विषयमा अनुसन्धान हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय समुदायको मागलाई फोन्सेकाले स्वीकार गरेपछि राष्ट्रपतिसँगको उनको मनमुटाव उत्कर्षमा पुगेको थियो ।
युद्धको समाप्तिपछि उनले सेनाप्रमुखको पद त्याग गरी राष्ट्रपतीय निर्वाचनमा राजापाक्षेको प्रतिद्वन्द्वी बनी उम्मेदवारी दिएका थिए । अमेरिकाले फोन्सेकालाई राजनीतिक बन्दीका रूपमा हेरेको छ र उनको रिहाइका लागि पटकपटक आवाज उठाउँदै आएको छ । श्रीलंकाली विदेशमन्त्री गामिनी लक्ष्मण पेरिसले अमेरिकी समकक्षी हिलारी क्लिन्टनसँग शुक्रबार भेट गरेपछि राष्ट्रपतिले फोन्सेकालाई रिहा गर्ने आदेशमा हस्ताक्षर गरेको बाइएको छ । (एएफपी)

प्रतिक्रिया