‘बन्दकर्ताको निशानामा सञ्चारकर्मी’

काठमाडौं, ७ जेठ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिका कार्यकर्ताले सञ्चारमाध्यमका सवारी साधन र सञ्चारकर्मी माथि राजधानीका आधा दर्जन स्थानमा आक्रमण गरेका छन् ।
समाचार संकलनका साथै कार्यालय जान हिडेका सञ्चारकर्मीका सवारी साधनमा विभिन्न स्थानमा बन्दकर्ताले रोकेर आक्रमण गर्ने गरेको पीडितहरुले बताएका छन् ।
बन्दकर्ताको आक्रमणको निशानामा कान्तिपुरपब्लिकेशन, एभिन्यूज, सगरमाथा, नेपाल वान टेलिभिजन लगायतका सञ्चारमाध्यमका सवारी साधन हुन पुगेका छन् ।
यसै क्रममा सौर्य दैनिकका सहकर्मी रामहरि पाण्डेलाई चावहिलको मित्रपार्कमा जनजाति महासंघका कार्यकर्ताले कुटपिट गर्नुका साथै मोटरसाईकलमा तोडफोड गरेका छन् । पाण्डेका अनुसार मादक पदार्थ सेवन गरेका आठ÷दस जनाको संख्यामा रहेका युवाहरुले आफू माथि आक्रमण गरे हुन् । आक्रमणबाट साईन मोटरसाईकलको साईडलाईट सहित विभिन्नस्थानमा क्षति भएको पाण्डेले बताए ।
‘तिमी पत्रकारहरुका कारण हामीले जातीय राज्य पाएनौं’, आक्रमणकारीको भनाई उदृत गर्दै पाण्डेले भने, ‘आज पत्रकारहरुलाई छानी÷छानी पिट्ने हो ।’
उता, कारोबार दैनिकमा कार्यरत वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पार्षद विपेन्द्र कार्कीमाथी पनि आन्दोलनकारीले आक्रमणको प्रयास गरेका छन् । आक्रमणबाट कार्कीलाई केही नभएपनि उनी सवार बा ४१ प १५०७ नम्वरको मोटरसाईकलमा तोडफोड गरी क्षति पुराएको पत्रकार महासंघ कारोबार शाखाले जनाएको छ ।
यसैवीच, चावाहिलमा नेपाल वान टेलिभिजनमा कार्यरत सम्वाददाता कविता अधिकारी र क्यामरापर्सन मंगल लामा माथी बन्दकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । त्यस क्रममा टेलिभिजनको बा ७ च १६०० नम्बरको गाडीमा तोडफोड गरी क्षति पुराएको टेलिभिजनका समाचार प्रमुख क्रन्दन चापागाईले बताएका छन् ।
बन्दका क्रममा जनजाति महासंघका कार्यकर्ताले राजधानीमा एघार वटा सवारी साधनमा तोडफोड गरी क्षति पुराएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

यसैवीच, सर्घष समितिले राजधानी दैनिकका संवाददात एवं पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष दिनेश थापामाथी दुव्यवहार गरेका छन् । काठमाडौबाट सिन्धुपाल्चोक जादै गरेका थापालाई आइतबार बिहान भक्तपुरको ठिमीमा जम्मा भएका बन्द कर्ताहरुले दुव्यवहार गरेका हुन् ।
पत्रकार परिचयपत्र देखाउदा पनि बन्दकर्ताले ‘प्रेस चाहि यो देशको राजा’ हो र भन्दै मोटरसाइकलमा आक्रमणको प्रायस गरेका थिए ।

प्रतिक्रिया