‘कम्तीमा दुई वर्ष खेल्छु’

लन्डन : चर्चित फुटबलर डेभिड बेकहयामले कम्तीमा अझै दुई वर्ष खेल्ने बताएका छन् । इङल्यान्ड टिमका पूर्वकप्तान बेकहयामले आसन्न लन्डन ओलम्पिकका लागि राष्ट्रिय टोलीमा रहने आशा व्यक्त गरेका छन् । ‘आफूले सकेसम्म खेल्छु । मलाई लाग्छ त्यो समय अझै कम्तीमा दुई वर्ष हुनेछ । त्यसपछि पनि खेलकुद अथवा फुटबलमा रहनेछु तर अन्य भूमिकामा । मलाई खेल्ने क्रममा मिलेका उपलब्धिबाट म अत्यन्त खुसी छु ।’ उनले आफ्ना सबै सपना पूरा भएको पनि जिकिर गरे । ‘मेरा सबै सपना पूरा भए । म्यानचेस्टर युनाइटेड र राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको थिएँ । ती दुवै पूरा भए,’ उनले भने ।
लन्डन ओलम्पिकको टर्च लिन इङल्यान्ड प्रतिनिधिमण्डलमा रहँदै एथेन्स पुगेका उनले त्यहाँस्थित विद्यालयमा केही समय बिताएका थिए । लन्डन ओलम्पिक आयोजना प्रमुख सेबास्टिएन कोएका साथ एथेन्सका विद्यालय घुम्ने क्रममा बेकहयामले आफू लन्डन ओलम्पिकका लागि टोलीमा रहनुपर्ने कारण औंल्याए, ‘म टोलीका लागि धेरै गर्न सक्छु ।’ सेलिब्रेटी भएका कारण रंगशाला भर्न आफूलाई टोलीमा राखिनुपर्ने आफ्नो धारणा नरहेको उनले बताए । ३७ वर्षीय बेकहयाम सन् २००५ मा लन्डनले ओलम्पिक आयोजना जिम्मेवारी पाउँदा दाबी टोलीमा थिए । लन्डन ओलम्पिकका लागि राष्ट्रिय टिम तयारीमा रहेको इङल्यान्डले बेकहयामलाई प्रारम्भिक टोलीमा राखिसकेको छ ।
यसैबीच ओलम्पिक ज्योति इङल्यान्ड घुमाउन सुरु गरिएको छ । शनिबार प्राचीन ओलम्पिक थलो ग्रिसको एथेन्सबाट ल्याइएको उक्त ज्योति अब ७० दिनसम्म इङल्यान्डभर घुमाइनेछ । ट्रिपल ओलम्पिक स्वर्णपदक विजेता सेलर एन्सलीले टर्च बोकेपछि इङल्यान्डभर त्यसलाई घुमाउन सुरु गरिएको हो । इङल्यान्डमा सो टर्च करिब आठ हजार मानिसले बोकेर त्यत्ति नै दूरी तय गर्नेछन् । लन्डन ओलम्पिक २७ जुनमा सुरु हुँदै छ । (एजेन्सी)

प्रतिक्रिया