लिग चरणमा दिल्ली शीर्ष


दिल्ली, ६ जेठ । किङस इलेभेन पन्जाबलाई ‘आउट गर्दै’ दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट सिजन–५ मा पहिलो चरण ‘डबल लिग’ विजेता भएको छ । शनिबार भएको आफ्नो १६आंै तथा अन्तिम खेलमा दिल्लीले पन्जाबलाई ६ विकेटले पराजित गर्‍यो र २२ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा रहने निश्चित भयो ।
१६ खेलपछि दिल्लीको २२ अंक भयो । दिल्लीभन्दा एक खेल कम खेलेको कोलकाता नाइटराइडर्स १९ अंकका साथ दोस्रो स्थानमा छ । अंकतालिकाको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेशका लागि भिडन्त गर्नेछन् र यो खेलमा पराजय व्यहोर्ने टोलीले फाइनल प्रवेशको अर्को अवसरमा तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
डेभिड वार्नरको आक्रामक ब्याटिङसँगै दिल्लीले पन्जाबबाट प्राप्त १४२ रनको लक्ष्य १८.२ ओभरमा पूरा गर्‍यो । अस्ट्रेलियाली वार्नरले ४४ बल खेल्दै १० चौका र चार छक्काको मद्दतमा ७९ रन जोडे । त्यस्तै वेनुगोपाल रावले २१ र उन्मुक्त चन्दले १८ रन बनाए ।
हारपछि पन्जाब शीर्ष चारमा नरहने निश्चित भयो । आफ्ना सबै १६ खेल खेलेको पन्जाब १६ अंकसहित लिगको छैटौं स्थानमा छ । १६ खेल खेलेको चेन्नाई आफूभन्दा एक खेल कम खेलेको बंगलोरसँग समान १७ अंक भए पनि रनरेटमा अघि रहँदै चौथो स्थानमा छ । बंगलोरले अन्तिम खेलमा डेक्कनको सामना गर्नेछ । दिल्लीविरुद्ध अनिवार्य जितका लागि उत्रिएको पन्जाबले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेन ।
शीर्ष चार खेलाडी दोहोरो अंकमा रन नजोडी आउट भएपछि धर्मराएको पन्जाबलाई मध्यक्रमका खेलाडीले अपेक्षाकृत सुधारिएको स्थितितर्फ डोर्‍याएका थिए । अजहर महमुदले ३६ र सिद्धार्थ छिन्तीसले ३८ रन बनाए भने गुरकित सिंहको खातामा पनि २६ रन रहयो । पन्जाबलाई सस्तैमा सीमित गर्ने क्रममा मर्न मर्केलले चार तथा उमेश यादवले तीन विकेट लिए ।
यसअघि शुक्रबार राति भएको खेलमा डेक्कन चार्जर्ससँग पराजित भएपछि पहिलो संस्करणको विजेता राजस्थान रोयल्स पनि प्ले अफ चरण पुग्न असफल भयो ।
पहिले ब्याटिङ गरेको राजस्थान १२६ रनमै सीमित भयो र प्राप्त लक्ष्य डेक्कनले १८.४ ओभरमा पाँच विकेट क्षतिमा पूरा गर्‍यो । १५ खेलपछि १४ अंक भएको राजस्थान चौथो स्थानको चेन्नाईभन्दा तीन अंकले पछि छ ।
राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा डेल स्टेन, वीरप्रताप सिंह र अमित मिश्रले दुई/दुई विकेट लिएका थिए ।

प्रतिक्रिया